राजनीति

कांग्रेस अदालतको निर्णय पर्खिन्छ: सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले चालेको संसद विघटनको कदम अलोकतान्त्रिक, असंवैधानिक भएको निष्कर्ष नेपाली कांग्रेसले निकालेको पार्टी सभापति शेरबहादुर देउवाले बताए । ओलीको असंवैधानिक कदमप्रति सोमबार भक्तपुरमा आयोजना गरिएको विरोध कार्यक्रममा बोल्दै पार्टीले सभापति देउवाले भने, ‘यो विषय अदालतमा पुगेको हुनाले त्यसबारे थप टिप्पर्णी गर्न नमिल्दैन ।’

विरोध सभामा सम्बोधन गर्दै सभापति देउवाले भने, ‘यो असंवैधानिक कदमका विरुद्धमा कांग्रेसले देशैभरि विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस न्यायपालिकामा विश्वास राख्छ, कांग्रेसले कहिले पनि अदालतलाई धम्क्याएर यो निर्णय गर भन्दैन । पञ्चायतकालमा समेत अदालत सम्मानित थियो, तर कम्युनिष्टहरु आएपछि अदालतप्रति धावा बोल्न थाले । नेपाली कांग्रेसले कहिले पनि अदालतलाई धम्क्याउने, तर्साउने काम गर्दैन । स्वविवेकीय निर्णय गर्ने अधिकार अदालतसँग सुरक्षित छ । अहिलेको घटनामा पनि कांग्रेसले अदालतको निर्णय पर्खिनेछ ।’

सभापति देउवाले भने, ‘अदालतमा विराचाधीन मुद्दाका विषयमा केही बोल्दैनौं, अदालतको निर्णय नआएसम्म हामी जनसम्पर्क बढाउने, ओली सरकारविरुद्ध विरोध प्रदर्शन कांग्रेसले जारी राखिने छ ।’

विरोध प्रदर्शन गर्दा स्वास्थ्य मापदण्ड अपनाउन उनले कांग्रेस कार्यकर्तासँग आग्रह गरे । संक्रमणविरुद्ध भ्याक्सिन आएको छैन, त्यत्तिबेलासम्म हामीले सम्यमता अपनाउँदै सुरक्षित रहेर यो असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए ।

सभापति देउवाले भने, ‘अदालतको निर्णय मान्ने कांग्रेसको पहिलेदेखिकै स्वभाव हो । न्यायालयको निर्णय संसारभरि मानिन्छ । अदालतमा विचाराधीन विषयमा यो वा त्यो बोल भनेर कांग्रेसले कसैलाई भन्दैन । अदालतबाट आएको निर्णय कांग्रेसका लागि सर्वस्वीकार्य हुनेछ ।’

नेपाली कांग्रेस एक्लैले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्नेछ । छिट्टै केन्द्रिय समितिको बैठक बसेर अर्को चरणको विरोध कार्यक्रम गर्ने सभापति देउवाले जानकारी दिए ।

उनले भने, ‘हाम्रो काम जनताको सेवा गर्ने हो, नेपाली कांग्रेसले जहिले पनि जनताको सुख दुखमा साथ दिन्छ ।’ भोलिका दिनमा विरोधका कार्यक्रम थप सशक्त बनाउनुपर्ने भएकाले नेपाली कांग्रेसमा आस्था राख्ने सम्पूर्ण महानुभावहरुलाई तयारी अवस्थामा रहन उनले आग्रह गरे । संक्रमणको यो जोखिम परिस्थितिमा पनि विरोध कार्यक्रममा सहभागी हुनुभएका सबैलाई सभापति देउवाले धन्यवाद दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *