काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ । आइतबार बेलुका गस्तीमा गएको प्रहरी र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहबीच चैनपुर ४ मैदानेमा गोली हानाहान भएको हो ।
गस्तीमा रहेको प्रहरीलाई लक्षित गरेर विप्लव समूहका कार्यकर्ताले आक्रमणको प्रयास गरेपछि प्रहरीले जवाफी फइरिङ गरेको जिल्ला प्रहरी कार्यालय खाँदवारीले जनाएको छ ।
विप्लव समुहका जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राईसमेतका कार्यकर्ताले प्रहरीको गस्तीमाथि गोली चलाएर जंगलतर्फ भागेका थिए । प्रहरीले घटनास्थलबाट विस्फोटक पदार्थ र महत्वपूर्ण दस्तावेज फेला पारेको छ ।
करिव डेढ महिना अघि पनि मैदानेमा विप्लव समुह र प्रहरीबीच भिडन्त भएको थियो । २०७६ सालमा संखुवासभा कै सिलिचुङ गाउँपालिकामा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको थियो ।




