काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षीयले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दै छ ।
नेकपाले भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने बताइएको छ।
दाहाल-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएको छ ।
उक्त पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि तय गरेको छ । यस्तै २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्नेछ । २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला गर्ने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।
उता ओली पक्षले भने निर्वाचनको तयारी गर्न आफ्ना सबै तहलाई निर्देशन दिएको छ । अनौपचारिक विधाजन भइसकेको नेकपामा एक पक्ष संसद् विघटन विरुद्ध सडक र अदालत धाइरहेको छ भने अर्को पक्ष मध्यावधी निर्वाचनको तयारीमा लागेको छ।




