काठमाडाैं । आजका पत्रपत्रिकामा फरक विषयहरुले स्थान पाएका छन् । सबै पत्रिकामा नेकपा कै विवाद, संसद् विघटन र त्यसबाट उत्पन्न स्थितिबारे समाचार छन् । त्यस्तै प्रदेश सरकारमा पनि संकटमा रहेको खबरलाई छापेका छन् ।
आजको राजधानी दैनिकले बाग्मति प्रदेशमा सरकार संकटमा रहेको खबर छापेकोछ । मुख्यमन्त्री विर।घ अविश्वासको प्रस्ताव छ ।बागमतीमा नयाँ सरकार बन्न कांग्रेसको समर्थन अनिवार्य, यस्तो छ समीकरण शिर्षकमा समाचार छ । प्रधानमन्त्री केपी शर्मा ओली प्यानलका मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका ४५ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । बागती प्रदेशमा नेकपाको ८० जना सांसद रहेका छन् । बाग्मती प्रदेशमा ओलीतर्फका ३३ जना मात्र सांसद रहेका छन् । यसले बाग्मती प्रदेशमा प्रचण्ड–नेपाल समूह बलियो देखिन्छ तर नयाँ सरकार गठनका लागि दुवै समूहसँग पर्याप्त संख्या रहेको छैन ।
बाग्मती प्रदेशसभामा जम्मा १ सय १० जना सांसद रहेका छन् । नेकपाभित्रको किचलोले अब नयाँ सरकार निर्माणका लागि २२ सांसद रहेको नेपाली कांग्रेसको समर्थन अनिवार्य बन्ने देखिन्छ । नेकपाका सांसद दुई खेमामा विभाजित भएपछि कांग्रेस निर्णयक शक्ति बन्न पुगेको छ ।
त्यस्तै कान्तिपुर दैनिकले केन्द्रीय कमिटीमा जसको बहुमत उसैको नेकपा र चुनाव चिन्ह हुनेबारे खबर छापेको छ ।
नेकपाको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झण्डा पाउने निश्चित छ । दुवै पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको र सानो समूह मात्रै छुट्टिएको आरोप लगाइरहेका छन् । यस्तो बेलामा निर्वाचनमा आयोगमा हुने केन्द्रीय कमिटीका सदस्यहरुको सनाखत नै पार्टीको आधिकारिकताका लागि महत्त्वपूर्ण मानिनेछ ।
नागरिक दैनिकले नेकपा विभाजनः दुवै पक्षबाट औचित्य पुष्टिको प्रयास शिर्षकमा छापेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य पुष्टि गर्न समय खर्चिएका छन्। दुबै पक्षले आफूलाई आधिकारिक बनाउन सक्रियता बढाएका छन् ।




