काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक कदम विरुद्ध पुस १३ को प्रदर्शनमा सक्रिय सहभागी बन्न अपील गरेका छन ।
प्रधानमन्त्री केपी. शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ ।
सभापति देउवाले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका हुन ।
शनिबार एक अपील जारी गर्दै सभापति देउवाले भनेका छन ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’




