राजनीति

नेकपा विभाजनको असरः अब झुण्ड झुण्डमा झगडा, सम्पत्ति कब्जाको होडबाजी

काठमाडौं । दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी दावी गरिएको नेकपा विभाजन भएपछि राजनीतिक तरलता आउनु स्वाभाविक हो । नेपालको सत्तारुढ दलमा विभाजनसँगै प्रतिपक्षलाई फाइदा पुग्नु र सरकारको काम कारवाहीमा गतिशीलता नहुनुले राजनीतिक तरलतालाई बल पुगेको छ । निर्वाचन आयोगमा दुवै पार्टीले आफू संस्थापन भएको दावी गरेका छन् । सर्वोच्च अदालतमा संसद पुर्नस्थापनाको मुद्धा विचराधीन रहेको छ । विभाजन भएका दुवै पक्ष आमुन्ने सामान्ने हुने अवस्था देखिएको छ ।

विभाजित पार्टीका दुई अध्यक्ष मध्ये केपी शर्मा ओलीले निर्वाचनको तयारी गर्न आफ्ना केन्द्रीय सदस्यहरुलाई निर्देशन जारी गरेका छन् । कम्युनिष्ट पार्टीकै शैलीमा उनले अबको निर्वाचमा आफूहरुलाई हार्ने छुट नभएको भन्दै तयारी गर्न निर्दैशन दिए । उता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अहिलेको भन्दा भयानक संघर्ष गर्नूपर्ने दिन आउनसक्ने भन्दै तयारी रहन निर्दैशन दिए । यसका बाबुजुद दुवै पक्षले आफ्ना नेता कार्यकर्ता चोरिन नदिन सर्तकता समेत अपनाएका छन् । तर भोट चोरिने वा जनता आफूसँग नभएको बारे उनीहरुले केही आँकलन गरेका छैनन । समग्रमा भन्ने हो भने दुवै पक्षलाई सत्ताको भोकले यतिधेरै व्यग्र बनाएको छ कि प्रचण्ड अहिलेनै प्रधानमन्त्री बनिहाले कि जस्तो भावमा प्रस्तुत हुने गरेका छन् भने ओली त सत्तामै छन् ।

यससँगै सत्ताको भोक कस्तो हुन्छ भनेर गृहमन्त्री रामबहादुर थापा वादलको प्रसँगलाई थोरै चर्चा गरौ । लामो समयदेखि राजनीतिक भाषणवाजीमा नदेखिएका रामबहादुर थापा ‘बादल’ बिहीबार बालुवाटारको मञ्चमा देखिए । नेकपाको केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकमा उनी मञ्चमा मात्रै देखिएनन प्रचण्ड र माधव नेपाल स्वार्थी भएको भन्दै भाषण समेत गरे ।

‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको हो । चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नु पर्ने छ । उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ,’ ओली पक्षलाई सान्त्वना हुने गरी बैठकमा उही ओझपूर्ण आवाजमा उनले सम्बोधन गरे ।

ओहोरदोहोरले कार्यकर्तालाई नैराश्यतातिर धकेलेको मात्रै होइन भोलीको दिन निस्कृयता पनि बढाएको छ

नेकपाका दुई अध्यक्ष ओली र दाहालबीच बढ्दो दुरीमा बादल प्रायः मौन नै देखिएका थिए । उनले सचिवालय बैठकमा कुनै समूहलाई बल पुग्ने गरी समर्थन गरेनन । उनका तर्क मध्यमार्गी देखिए । गुटगत भेलाबाट टाढै बस्न रुचाएका उनी र दाहालको लामो राजनीतिक यात्रा अनि सशस्त्र विद्रोहताकाको सहयात्राले यदि कता उभिने निर्णय गर्नैपर्याे भने उनी दाहालको पक्षमा उभिने राजनीतिक रुपमा विश्लेषण गरिएको थियो । तर त्यो विश्लेष्ण भने विहिबारबाट गलत भएको छ ।

अविश्वास प्रस्ताव दर्ताको प्रयासबाट विकसित भएको राजनीतिक घटनाक्रम प्रतिनिधि सभा विघटनमा पुग्दासम्म मौन बसेका बादल बिहीबार राजनीतिक अनुमानविपरीत ओली समूहमा पुगे । प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै पार्टी औपचारिक रुपमा विभाजन भयो । त्यसयता दुबै पक्षले आफू निकटको केन्द्रीय समितिको बैठक राखे अनुकुलतामा निर्णय गरे तर नेता कार्यकर्ताको अनुहार उडेको रंगको बारेमा उनीहरुको बहस छलफल केन्द्रीत देखिदैन ।

भोली आउने निर्वाचनमा कार्यकर्ताहरु परिचालन हुनुपर्छ भन्ने अनुमान त होला तर कार्यकर्ताको काधमा चढेर अबको दिनमा गरिने भाषणबाजी र आरोप प्रत्यारोप विभाजित नेकपालाई सन्जिबनी होला त ? यस्ता प्रश्नले घर गरिरहेका बेला बैठकबाट एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने निर्णयसमेत गरे । त्यो बाहेक अहिले दुबै पक्षले नेता तथा कार्यकर्ता आफ्नो पक्षमा तान्न तीव्र दौडधुप थाले । दुई दिनअघि ओली पक्षमा गएका केन्द्रीय सदस्य शेरबहादुर तामाङ बिहीबार प्रचण्ड–नेपाल समूहमातिर फर्किए ।

प्रचण्ड–नेपाल खेमामा आएका रघुविर महासेठ ओलीतिर गएका छन् । यो क्रम अझै केही समय चल्नेछ । यस्तो ओहोरदोहोरले कार्यकर्तालाई नैराश्यतातिर धकेलेको मात्रै होइन भोलीको दिन निस्कृयता पनि बढाएको छ ।

अहिले पूर्व एमालेले निर्माण गरेका पार्टी कार्यालय कब्जा गर्ने थालिएको छ । ओली समूहले जिल्ला जिल्लामा आफ्ना कार्यकर्ता मार्फत पार्टी कार्यालय कब्जा गर्न थालियो

यतिबेला नेकपा उपाध्यक्ष वामदेव गौतम भने अझै कुनै पक्षको बैठकमा सहभागी भएका छैनन् । उनले आफ्नो कित्ता क्लियर गर्न अझै बाँकी छ । त्यसैले गौतमलाई आफ्नो पोल्टामा पार्न प्रचण्ड–मावध र ओलीसमूह लागिपरेका छन् । कस्को समूहमा जाने भन्ने निर्णय गर्न बाँकी शीर्ष नेतामध्ये गौतम मात्रै एक्लो छन् । जोडघटाउको राजनीतिक अभ्यासको बानी परेका दाहाल समूहका पूर्वएमालेका नेताका लागि बादलको निर्णय सामान्य नै लाग्छ तर गौतमको निर्णय भने उनीहरुलाई सामान्य लागिरहेको छैन ।

पूर्व एमालेको ठूलो पंक्ति अहिले पनि गौतमको निर्णय कुरेरै बसेका छन् । अहिले दुवै पक्ष वडा तहसम्मै विभाजित अवस्थामा छन् । यसले हिंसात्मक द्धन्द समेत निम्त्याउने खतरा रहेको छ । विगतमा माले–एमाले, माओवादी–एमालेको जस्तै मारपिटमा कार्यकर्ताहरु उत्रन सक्ने खतरा समेत बढेको छ । यसले शहर र केन्द्रमा भन्दापनि गाउँमा बढी द्वन्द निम्तने खतरा रहेको छ । प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शनदेखि स्थानीय तहका वडा तहसम्म भेला र प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ । यता ओली समूहले पनि आफ्ना केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिएर वडा तहसम्मै पठाउदैछ ।

अहिले पूर्व एमालेले निर्माण गरेका पार्टी कार्यालय कब्जा गर्ने थालिएको छ । ओली समूहले जिल्ला जिल्लामा आफ्ना कार्यकर्ता मार्फत पार्टी कार्यालय कब्जा गर्न थालियो । त्यसलाई काउण्टर दिन विहिबार प्रचण्ड नेपाल पनि बल्खुस्थित पुरानो एमालेको पार्टी कार्यालय पुगेर आफूहरु संस्थापन भएको देखाउन खोजेका थिए । यसर्थ पार्टी कार्यालय कब्जा गर्ने कार्यक्रममले नै देशभर पहिलो चरणमा भिडन्तलाई निम्तो दिइदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *