काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ औं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले नेकपा विभाजित भएपछि पहिलो पटक मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिमण्डलमा एकजना राज्यमन्त्रीसहित ९ जना नयाँ मन्त्री थपिएका छन् । मौजुदा मन्त्रिमण्डलका ६ जनाको जिम्मेवारी हेरेफेर गरिएको छ भने दुईजनालाई बर्खास्त गरेका छन् ।
पूर्वमाओवादीका नेताहरुलाई महत्वपूर्ण मन्त्रालय दिएर मन्त्रिपरिषदको हेरफेर र बिस्तार गरिएको छ । टोपवहादुर रायमाझी उर्जा मन्त्री भएका छन् भने मणी थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन् ।
त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री र दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै जुलीकुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।
यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् । त्यस्तै यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानुन र कानुमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगर्डलाई भने मन्त्री पदबाट बर्खास्त गरिएको छ ।
छ जना मन्त्रीलाई यथावत राखिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्त नेम्वाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई यथावत राखिएको छ ।
सामान्य प्रशासनमन्त्री ठगुन्न वामदेव पक्षको ठानिएको छ । यस्तै खानेपानी मन्त्री थापा र युवा तथा खेलकुद मन्त्री लामा विघठित प्रतिनिधिसभा सदस्य थिएनन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी थिइन् ।




