काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिटमाथि आज सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाइ हुँदैछ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको संबैधानिक इजलासले आज सुनुवाई गर्नेछन् ।
बुधबार १२ वटा रिटमा प्रधानन्यायाधीश राणाको एकल इजलासले संबैधानिक इजलासमा पठाएको थियो। भने एउटा रिट संबैधानिक इजलासमै दर्ता भएकाे थियाे । आज यी सबै निवेदनलाई एकै पटक पेशीमा राखेर सुनुवाइ हुने छ। संविधानको धारा ७६ को व्याख्याको विषय भएको भन्दै विघटनविरुद्धका निवेदन संवैधानिक इजलासमा पठाइएको थियो।
प्रधानन्यायाधीशसहित ९ न्यायाधीश रहेको संवैधानिक इजलाशमा वरिष्ठताको क्रमकोे आधारमा ५ जना न्यायाधीसहरुले सुनुवाई गर्नेछन् । जसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटनलाई अनुमोदन गरेपछि अन्तिम आशा सर्वोच्च अदालत रहेको छ । बुधबारको सुनुवाईमा विघटन विरुद्ध अन्तरिम आदेश नदिएको सर्वोच्चले आजको त्यसको निकासा कसरी गर्छ हेर्न बाँकी छ ।




