काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच संसद अधिवेशन तत्काल बोलाउन माग गर्ने समझदारी भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका नेताहरुबीच शनिबार भएको छलफलमा दुई बुँदे समझदारी बनेको हो ।
पहिलो समझदारी संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने, दोस्रो लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को विविध पक्ष, आर्थिक संकटलगायत जनसरोकारका विषयमा संसद्मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो ।
ओलीले संसद नबोलाउने अवस्था देखिए विशेष अधिवेशनको समावेदनका लागि पनि तयारी अवस्थामा रहन जसपाका नेताहरु सुझाए
प्रधानमन्त्री ओलीले पुस १७ भित्र संसद् बैठक नबोलाए आउसक्ने परिस्थितिबारे पनि छलफल भएको बताइएको छ । ओलीले संसद नबोलाउने अवस्था देखिए विशेष अधिवेशनको समावेदनका लागि पनि तयारी अवस्थामा रहन जसपाका नेताहरु सुझाएका थिए । त्यसका लागि कांग्रेसलाई अग्रसरता लिन उनीहरुले आग्रह गरेका थिए ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले लगातार संविधान उल्लंघन गरेको भन्दै विपक्षी पार्टीहरु एक ठाउँमा उभिनुपर्ने सन्देशसहित जसपाका नेताहरु देउवानिवास बूढानीलकण्ठ पुगेका हुन् ।
छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. प्रकाशशरण महत तथा जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।




