राजनीति

प्रचण्ड-नेपाल गुट भेलामा वामदेव नजाँदा फूटको आशंका

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल आयोजना गरेको भेलालाई उपाध्यक्ष वामदेव गौतमले बहिष्कार गरेपछि सो गुटमा खैलाबैला मच्चिएको छ ।

उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटको भेलामा नजाने तर पार्टीका बैठक नछाड्ने बताउदै उनले पेरिसडाडामा भएको भेला बाहिष्कार गरेपछि प्रचण्ड-नेपाल समूहमा फूट आएको हो कि भन्ने आशंका उब्जिएको छ ।

गत बुधबारको स्थायी समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विवाद अन्त्यका लागि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीका रुपमा अघि सारेका थिए । त्यसपछि गौतमले प्रचण्ड–माधव समूह त्यागेको बताइएको छ । प्रेस संयोजक विश्वमणि सुवेदीले समेत वामदेव गौतम पार्टीले आह्वान गरेको बैठकमा मात्र सहभागी हुने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

शुक्रबार दिउँसो प्रचण्ड–नेपाल पक्षको भेलामा नगएका उपाध्यक्ष गौतमले गुट भेलामा नजाने बताएका हुन् । उनलेअहिले भेला गर्ने बेला होइन, बैठकबाटै समस्याको समाधान खोज्नु पर्ने भएकाले आफू त्यस्ता भेलामा नजाने बताएका हुन् । उनले पाँचजना नेताको बैठकमा भने सहभागी हुने बताएका छन् । शुक्रबारको पेरिस डाँडा बैठकमा गौतम सहभागी नहुनुले सो समूहमा फूट आएको हो कि भन्ने आशंका बढेको छ ।

भेलामा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गरेका थिए । पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको भेलामा अध्यादेश फिर्ता नलिए थप कमद चाल्ने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *