राजनीति

उखु किसानको आन्दोलनमा वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगे । बक्यौता रकम उठाउनका लागि उखु किसानले एकसाता अघिदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।

वरिष्ठ नेता पौडेलले आन्दोलनरत किसानहरुलाई आफू र आफ्नो पार्टी आन्दोलनरत उखु किसानको साथमा रहेको बताएका थिए । ‘हाम्रो पार्टी सँधै किसानको साथमा छ,’ पौडेलले भने, ‘सरकारले किसानको बाँकी पैसा दिलाउन कुनै कसर छोड्नु हुँदैन । हाम्रो पार्टी किसानमाथि अन्याय हुन नदिन माग गर्दछ,’ पौडेलले भनेका थिए ।

त्यसैगरी शुक्रबार नै उखु किसानको आन्दोलनमा दुई मन्त्री पनि पुगेका थिए । उद्योग मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी पनि उखु किसानलाई समर्थन र सहयोग गर्ने हेतुले माइतीघर पुगेका थिए ।

दुबै मन्त्रीले किसानका मर्का आफूहरुले बुझेको भन्दै बक्यौता रकम दिलाउने प्रतिबद्धता जनाए । नेताहरुले नै मिल मालिकलाई जोगाउन दबाब दिने गरेको बताएका मन्त्री भट्टले किसानको बाँकी रकम शनिबारसम्म बैंकमा जम्मा नभएर मिल मालिकहरुलाई पक्राउ गरिने बताए । आश्वासन दिएर मन्त्री आन्दोलनस्थलबाट निस्किएलगत्तै किसानहरुले उनीविरुद्ध नाराबाजी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *