आज राजधानीबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले नेकपाभित्रको किचलो, अध्यादेश फिर्ता, राजनितिक प्रस्ताव फिर्ता लगाएतका राजनितिक कुराले पत्रपत्रिकाको पहिलो पेज भरिएका छन् ।
मंगलबारदेखि तातेको नेपालको राजनितिक माहोल अझै गरम नै छ । मंगलबार अचानक जारी गरेको अध्यादेश २४ घन्टा नबित्दै फिर्ता गर्न प्रधानमन्त्री ओली सहमत भएका छन् । नेकपा कै ८३ सांसदले संसद सुरु गर्न राष्ट्रपतिलाई पत्र लेखेकोबारे पनि सबै पत्रिकाले स्थान दिएर समाचार छापेको छन् ।
नयाँ पत्रिकाले राष्ट्रपतिः नेकपाको बन्दी शिर्षकमा कभर स्टोरी छापेको छ । स्वतन्त्र पद हुँदा हुँदै पनि राष्ट्रपतिले विगतमा भएका गल्तीहरुको बेलीविस्तार लगाउँदै नयाँपत्रिकाले विश्लेषणात्मक स्टोरी छापेको छ ।
नागरिक दैनिकले पनि नेकपाकै किचलोलाई पहिलो पेजमा प्राथमिकताको साथ समाचार छापेको छ । नेकपाकै नेता तथा सांसदबाट घेराबन्दीमा परेपछि आफ्नो अडानबाट ओली पछि हटेको समाचारको निचोड छ । अब रक्षात्मक अवस्थामा ओली शिर्षकमा टपेन्द्र कार्किले लेखेका छन्, मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश फिर्ता गर्न तयार भएसँगै उनी पार्टी बैठकमा सहभागी नहुने भन्ने अडानबाट पनि पछि हटेका छन्।
नागरिक दैनिकले नै अध्यादेश विरुद्ध सवोच्चमा रिट परेकोबारे पनि पहिलो पृष्ठमा समाचार लेखेको छ ।
अध्यादेशकै सेरोफेरोमा मुख्य समाचार लेखेको कान्तिपुर दैनिकले स्कुल तत्काल नखोल्ने बारे पनि समाचार लेखेको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो ।




