रिबन

एकअर्कालाई ‘नंग्याएर’ कमरेडहरू फेरि सहमतितिर

काठमाडौं । सत्तारुढ नेकपामा देखिएको किचलो फेरि केही समयका लागि मत्थर हुने छनक देखिएको छ । स्थायी कमिटी बैठकको निर्णयपछि प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही कुरामा सहमति भएको छ ।

प्रधानमन्त्री ओली भदौ २६ गतेभन्दा पछि गरेका सबै निर्णय फिर्ता लिन सहमत भएका छन् । प्रचण्ड भने आफूले ओलीलाई लगाएको १९ पृष्ठको आरोप पत्र पार्टीको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा छलफल नगराउन सहमत भएका छन् ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले आफूले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएको बताउँदै मंगलबार संवैधानिक परिषद् बैठकमा कुनै निर्णय नभएको जानकारी दिएका छन् ।

ओली र प्रचण्डबीच शीतयुद्ध चलेपछि नेकपामा दुवैतिरका समर्थक आपसमा एकले अर्कोलाई नंग्याउने प्रतिस्पर्धामा उत्रिएका थिए । पूर्वएमाले त्यसमा पनि ओली गुटले पूर्वमाओवादी पक्षका नेतालाई तल्लोस्तरमा झरेर गालीगलौज गरेका थिए । ओली र प्रचण्ड मिलेपछि अहिले उनीहरू फेरि भजन कीर्तन गाउन थालेका छन् ।

ओली र प्रचण्डबीचको लडाइँमा राष्ट्रपति विद्यादेवी भण्डारी भने नराम्ररी विवादमा तानिइन् । आफ्नै पार्टी र कांग्रेसले समेत महाअभियोग लगाउने तयारी गरेको सुइँको पाएपछि प्रधानमन्त्री ओली प्रचण्डसँग मिल्न पुगेका हुन् । यो घटनाले सबैभन्दा धेरै राजनीतिक घाटा ओलीलाई हुने भएको छ । पटकपटक अध्यादेश जारी गर्ने र फिर्ता लिने प्रकरणले अब ओलीले सरकार चलाउने नैतिकता गुमाएको विश्लेषण हुन थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *