काठमाडौं । सत्तारुढ नेकपामा देखिएको किचलो मिलाउन दोस्रो तहका नेता सक्रिय भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीसँग असन्तुष्ट भएसँगै दोस्रो तहका नेताको बालुवाटार खुमलटार आउजाउ बाक्लिएको छ ।
मंगलबार राति संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । उनले एकपटक प्रधानमन्त्री ओलीसँग संवाद गर्न प्रस्ताव गरेका थिए । तर, प्रचण्डले सो प्रस्तावलाई खासै वास्ता गरेनन् ।
बुधबार बिहानै नेकपा स्थायी समिति सदस्य शंकर पोखरेल प्रचण्ड भेट्न खुमलटार पुगेका छन्। लुम्विनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल ओलीको दूतका रुपमा खुमलटार पुगेका हु्न।
आज बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न निर्देशन दिने तयारी नेताहरुले गरेपछि शंकर पोखरेल खुमलटार पुगेका हुन्।
नेकपामा प्रचण्ड–नेपाल पक्ष नेता तथा प्रमुख प्रतिपक्ष दल कांग्रेसले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गरेका छन्। कांग्रेसले आजै पदाधिकारी बैठक राखेर अध्यादेशबारे पार्टीका आधिकारिक निर्णय सार्वजनिक गर्ने भएको छ ।




