काठमाडौं । संवैधानिक परिषद् बैठक संशोधन अध्यायदेशले नेपालको राजनीति यतिबेला तरंगित भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादले निम्तेको राजनीतिक यो संकटले कुन कोर्ष तय गर्छ सहजै अनुमान लगाउन सकिँदैन । यद्यपि सत्ताको बागडोर समातेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा विकल्पसहित राजनीतिलाई नयाँ कोर्षतर्फ अघि बढाउने मनस्थितिमा पुगेको आभास हुन्छ ।
पहिलो विकल्पमा उनले असन्तुष्ट पक्षलाई सम्झाउने र फकाउने रणनीति अख्तियार गर्दैछन् । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितको टोलीलाई सत्ता सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका छन् । नेकपालाई राज्य सञ्चालन गर्न ५ वर्ष जनताले स्पष्ट बहुमत दिएर पठाएका हुन् । आन्तरिक द्वन्द्वले सत्ताको खिचातानीमा लागियो भने पार्टीलाई गम्भीर क्षति पुग्छ भन्ने सन्देश खुमलटारमा पु-याइसकेका छन् ।
प्रधानमन्त्री ओलीको दोस्रो विकल्प भनेकै ताजा जनादेश हो भन्ने संकेत राष्ट्रपति कार्यालयमा दर्ता भएको दल विभाजनसम्बन्धी अध्यायदेशले पुष्टि गर्छ
पार्टीलाई जस्तोसुकै क्षति पुगे पनि ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने एकसूत्रीय अभियानमा प्रचण्डसहित नेकपाका शीर्ष नेता लागे ओलीले दोस्रो विकल्प रोज्ने निश्चित छ । प्रधानमन्त्री ओलीको दोस्रो विकल्प भनेकै ताजा जनादेश हो भन्ने संकेत राष्ट्रपति कार्यालयमा दर्ता भएको दल विभाजनसम्बन्धी अध्यायदेशले पुष्टि गर्छ ।
डाढु पुन्यु हातमै भएका बेला पार्टीमा असन्तुष्ट पक्षलाई साइट लगाएर नयाँ जनादेशका लागि जनतामा जाने मनस्थिति प्रधानमन्त्री ओलीले बनाइसकेका छन् । सजिलोसँग सत्ता सञ्चालन गर्ने वातावरण नबनेसम्म संसद बैठक आह्वान गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली छैनन् । पार्टीभित्रको आन्तरिक संघर्ष वार पार नभएसम्म अध्यायदेशमार्फत् राज्य सञ्चालनमा राष्ट्रपति विद्यादेवी भण्डारीले काँधै थापेकी छन् ।
यी दुईमध्ये प्रधानमन्त्री ओलीले कुन विकल्प रोज्छन् त्यो हेर्न केही समय पर्खिनु पर्ने हुन्छ ।




