काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषद् बैठक बोलाएइका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि केहीबेर बसेर बैठक स्थगित भएको थियो । यस्तै, यसअघि २८ गते पनि सभामुखसहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि स्थगित भएको थियो ।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ। उपसभामुख पद लामो समयदेखि रिक्त छ । बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति कडा आपत्ति जनाएका छन् । मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ ल्याएको बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डले तत्काल खारेज गर्न माग गरेका हुन् । पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएकोमा उनको असन्तुष्टि छ ।




