हेटौडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको थियो । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले मकवानपुरको हेटौडामा सम्बोधन गरेका छन् । सरकारविरुद्ध कांग्रेसको यो बाध्यता भएको उनले बताए ।
सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘जनतालाई अप्ठ्यारो पार्ने हाम्रो उद्देश्य होइन । हामीले केही गरेन भने पनि गरेन भन्छ, ग¥यो भने अप्ठ्यारो पा¥यो भन्छन् । प्रजातन्त्रमा ढुंगा हान्ने, पसल बन्द गराउने, जनतालाई दुःख दिने, सडक बन्द गराउने, सडकमै आमसभा गर्ने हाम्रो उद्देश्य होइन । तर आज हामी बाध्य भएर कांग्रेसले सडकबाट आन्दोलन गर्नुपरेको छ । त्यसका लागि नेपाली कांग्रेसको तर्फबाट म माफी चाहन्छु ।’
सभापति देउवाले भने, ‘कम्युनिष्ट पार्टी एक हुँदा मैले भनेको थिएँ, कम्युनिष्टले जितेपछि बोल्न पाइँदैन, हाँस्न पाउने छैन र रुन पनि पाउने छैनन् । धेरै ठाउँमा रुन थाल्यो भने पक्रेर लैजान्छ । रुनु पनि ओलीको विरुद्ध हो भन्ठानिछ, त्यो अवस्था छ आज ।’
‘एकदलीय सर्वसत्तावादी शासन लागू गर्न कम्युनिष्ट सरकार उद्दत छ, त्यो हाम्रो सामु चुनौति छ, त्यो चुनौतिको सामना आज हामीले गर्नुछ’ सभापति देउवाले भने, ‘मैले प्रधानमन्त्री ओलीलाई भनेको थिएँ, हामी सक्दो सहयोग गछौं, हाम्रो तलबको आधा सरकारलाई बुझायौं । दसैं खर्च हामीले सरकारलाई बुझायौं । कम्युनिष्टहरु पनि बाध्य भएर सहयोग दिए । हामीले पूरापूर सहयोग ग¥यौं । तर सरकारले कोरानामा पनि घुस खाने र भ्रष्टाचार गर्ने काम ग¥यो । कम्युष्टि शासन पालमा हाम्रा चेलीबेटी सुरक्षित रहेनन् । बलत्कार बढेको छ । शुन्य सहनशीलताको भाषण गर्ने ओली सरकार ती अपराधिलाई पक्रन चाहदैन । किनभने त्यसमा कम्युनिष्टको संलग्नता छ ।’
‘यो सरकारले बोल्ने लेख्ने अधिकार, संगठन गर्ने अधिकारबाट बन्चित गरेको छ । हामीले सर्वसत्तावादी सरकार ल्याउन आन्दोलन गरेका होइनौं । जनताको अधिकार स्थापित गर्न व्यवस्था ल्याएको हो । प्रजातन्त्रको मूलभूत उद्देश्यमाथि आक्रमण भइरहेको छ, त्यसका विरुद्ध कांग्रेसले यो विरोध कार्यक्रम गर्नुपरेको हो, सभापति देउवाले भने ।’
‘आज जनता कम्युनिष्टको सरकारबाट वाक्क भइसकेका छन् । त्यसैले कम्युनिष्ट सरकारविरुद्ध देशभरि आन्दोलन गर्नुपर्ने हामीलाई बाध्यता छ । कम्युनिष्ट सरकारकै कारण सडकमा राजा आउ देश बचाउको नारा लाग्न थालेको छ’, सभापति देउवाले भने, ‘आदिवासी, महिला, जनजाति सबै अटाउने यो संसदीय व्यवस्थाभन्दा अर्को राम्रो व्यवस्था छैन, यसलाई हामीले अझ समावेशी बनाउँदै लैजानुपर्छ । यो संविधानलाई सफल पार्नुपर्छ । आजको आन्दोलनले जनता कांग्रेससँग छन् भन्ने प्रमाणित भएको सभापति देउवाले बताए । उनले भने, ‘प्रजातन्त्रका अधिकार खोसियो भने कांग्रेस आन्दोलनमा उत्रिन्छ ।’
सभापति देउवाले सम्बोधन गरेको उक्त कार्यक्रम यस्तो थियो–




