आज राजधानीबाट प्रकाशित सबै जसो राष्ट्रिय पत्रपत्रिकाले नेकपा स्थायी कमिटि बैठक र अध्यक्ष केपी शर्मा ओलीको पत्रलाई प्राथमिकतामा राख्दै विश्लेषण गरेका छन् । नागरिक दैनिकले शक्ति संचयमा अध्यक्षद्वय शिर्षकमा मुख्य समाचार छापेको छ।
टपेन्द्र कार्कि लेख्छन् प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्ताव फिर्ता नभएसम्म स्थायी कमिटीको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएसँगै बैठक एक हप्ता सारेर दुवै अध्यक्ष शक्ति सञ्चयतर्फ लागेका छन् ।
सन् २०३० सम्ममा विद्युतिय गाडी विक्रि ९० प्रतिशतसम्म पुर्याउने लक्ष्यबारे पनि पहिलो पृष्ठमा खबर छ । जलवायुसम्बन्धि पेरिस सम्झौता अनुरुप चार वर्ष अधि निर्धारण गरिएको राष्ट्रिय लक्ष्य परिमार्जनको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिने भएको छ ।
नेकपाको कलहलाई प्राथमिकतामा राखेको कान्तिपुरले अन्य विषयबस्तुलाई पनि उत्तिकै प्राथमिकता दिएको छ । भिजिट भिसामा कडाइ गरेको र अंग्रेजी जान्नै पर्ने बनाइएको खबरलाई पनि कान्तिपुरले छापेको छ । सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो ।
सरकारी पत्रिका गोरखापत्रले पनि नेकपाकै स्थायी कमिटि बैठकलाई पहिलो पृष्ठमा राखेको छ भने डीडीसीको घिउ जापान निर्यात हुन थालेकोबारे पनि समाचार छापेको छ । चारदेखि पाँच सय मेट्रिक टन लाने सम्झौता भएको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोस्टले पनि नेकपाकै विवादलाई मुख्य बनाएर पहिलो पृष्ठमा छापेको छ ।
विवाद झन् उत्कर्ष तर्फ शिर्षकमा प्रस्ताव फिर्ता नलिउन्जेल बैठकमा नजाने ओलीको अडान र प्रस्ताव फिर्ता नलाने बरु ३८ पेजकै बनाउने प्रचण्डको अडानबारे अन्नपूर्णले खबर छापेको छ ।




