कला/साहित्य

विनाश विश्व त्रस्त भो

लुकेर बँच्नु रे यहाँ
सुतेर बाँच्नु रे यहाँ
उठेर हिंड्नु हुन्न रे !
खुलेर डुल्नु हुन्न रे ! ।१।

    छुटेर बाँच रे यहाँ
    छिपेर बाँच रे यहाँ
    समीप जानु हुन्न रे !
    कुरूप रूप बन्छ रे ! ।२।

छ सास किन्तु आस खै !
विनाश नाश त्रास रे !
गरेर सार मिल्छ के ?
उमेर प्यार हुन्न रे ! ।३।

    मरे मलाम हुन्न रे !
    सलाम लाम भिन्न रे !
    न निस्क भित्र बाँच रे !
    किनेर खान साँच रे ! ।४।

असङ्ख्य लाश मानवै
बिमार दैत्य दानवै
बिमाख बन्छ रे यहाँ
न छेक भन्छ रे यहाँ । ।५।

    समस्त गोलटोल नै
    अघोर झोर घोरझैं
    भनिन्छ ध्वस्त हुन्छ रे !
    कि अस्तब्यस्त बन्छ रे ! ।६।

कुचाल ज्यान लिन्छ कि ?
अकाल मृत्यु हुन्छ कि ?
अखण्ड दण्ड मान यो
छ विश्व त्रस्त जान यो ।७।

    छ रोदनी जतातता 
    र सोधनी यताउता 
    खराब योग शत्रुता
    अदृश्य रोग तिक्तता ।८।

घुमेर चण्ड विश्वमा
जघण्य सन्ड दृश्यमा
विषाणु कोभिडै छ यो
विनाश विश्व त्रस्त भो ।९।

पदम दाहाल ,मादी संखुवासभा
हालःलोकन्थली, भक्तपुर
९८४२०९९८३१

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *