काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच घम्साघम्सी भएपछि ओली प्रचण्ड दुवै तनाबमा परेका छन् । पार्टीमा पेस गरेको जवाफी प्रतिवेदनपछि कार्यकारी अध्यक्ष प्रचण्ड पक्ष चिढिएको मात्रै होइन ओलीलाई तह लगाउने उपयुक्त समयको पर्खाइमा रहेका बेला मंगलाबारको बैठकको शुरुमै घम्साघम्सी परेको थियो । उनीहरुले आत्मआलोचना खोजेको तर ओलीको प्रतिवेदनमा त्यस्तो भाषा नआएपछि पूर्व माओवदी पक्ष चिढिएका थिए ।
त्यही अनुसार प्रचण्डले मंगलबारको बैठकमा आफ्ना धारणा राख्दा ओलीले अब धेरै नबोल्नुस मन लागेको गर्नुस भनेर जवाफ दिएका थिए । बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव व्यक्तिगत लाञ्छनामा केन्द्रित रहेकाले माफी मागेर प्रतिवेदन फिर्ता गर्नुपर्ने अडान ओलीले लिएका थिए । ‘व्यक्तिगत लाञ्छनामा केन्द्रित प्रतिवेदन फिर्ता गरेर माफी माग्नुपर्छ अनि सौहार्द रूपमा बैठकको परिस्थिति बन्छ,’ ओलीले भनेका थिए ।
ओलीलाई जवाफ दिँदै प्रचण्डले आफ्नो प्रतिवेदन सही वा गलत पार्टी कमिटीले निर्णय गर्ने बताएका थिए । ‘मेराविरुद्ध गरिएका घोचपेचका जवाफ मैले दिएको हुँ । यो मेरो मात्रै प्रतिवेदन होइन । हामी पाँच जनाको तर्फबाट आएको प्रतिवेदन हो, यो ठीक वा बेठीक भन्ने निर्णय पार्टी कमिटीले मात्रै गर्छ । व्यक्तिगत निष्कर्ष पार्टीले स्वीकार गर्दैन,’ प्रचण्डले बैठकमा भनेका थिए । अब यी प्रतिवेदनलाई स्थायी कमिटी बैठकमै लाने स्पष्ट सन्देश प्रचण्डले दिएका छन् ।
ओलीले भने सचिवालय बैठकमार्फत नै सुल्झाउन प्रयत्न गर्ने र सकभर स्थायी कमिटी बैठकलाई छल्ने रणनीति बनाएका छन् । त्यसै अनुसार ओलीले मंगलबारको बैठकमा प्रचण्डलाई विग्रहको बाटो रोज्ने कि सहमतिको बाटो रोज्ने भनेर सोधेका थिए । चिढिए पूर्व माओवादी यसैक्रममा पूर्व माओवादी समूह प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिढिएका छन् ।
स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा , पम्फा भूषाल, देव गुरुङ लगायतका केही नेताहरुले केपीओलीसँग अब सँगै जान कठिन हुने सुझाव दिएका छन् । गुरुङ र भूषालले ओलीको बुधवार विरोध गरेपनि शर्मा भने सुधार गर्न सकिन्छ कि भन्ने बाटोमा देखिएका थिए । ओलीको प्रतिवेदन अध्ययन गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका नेताहरुसहित आफूनिकट स्थायी समिति सदस्यहरुसँग सामुहिक र एकल रुपमा छलफल गरिसकेका छन् ।
आइतबार खुमलटारमा तीन नेताहरु माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठसहित प्रचण्डले छलफल गरेका थिए । उनीहरुले पार्टी विभाजन गर्न ओली नै लागेको निष्कर्ष निकालेको स्रोतको दावी छ ।




