सुन्दर सपना बोकेर घुरिरहेको अर्घेलो रातसँग
कचपल्टिंदो निन्द्रा उघार्दै
किञ्चित् बिउँझाइको मुहूर्त
सापटी माँग्छु म निर्घात समयसँग
आफ्नै बिछ्यौनामुनिको निर्जीव पलङ
र भित्तोसँग अडेस माग्ने अचल आलमारीधरि
मेरो सतर्कताका निंति
संवेदनशील भैं पहिल्यै सूचना भर्छन्
आफू कम्पायमान भएर भए पनि
आफू चलायमान भएर भए पनि ।
* * *
ओल्ला पल्ला घरका सिरान तलादेखि
बालबच्चा च्याप्न नभ्याएर
हाम फाल्छन् मेरा छिमेकीहरू
भाडाको भुइँलताबाट
चप्पल भिर्न नभ्याएर
गेट खोल्न पुग्नेहरू
आकाश थर्किने गरी कुर्लन्छन् प्रेममय आवाजले
भूकम्पको त्रासदीमा पनि बाँच्न अभ्यस्त
श्रीमान् महोदयहरू ।
* * *
प्रत्येकको ढुकढुकिंदो छातीभित्र
बारपाक पसेर हल्लाइरहेको भान हुन्छ
सिन्घुपाल्चोक दौडेर आफैँमा पसेको विभ्रम हुन्छ
राजधानी मार्चपासमा एक्लै उफ्रिरहेझैँ लाग्छ
ऊ रहेछ फगत उही अनन्य आगन्तुक
उही इतिहासको भुइँचालोको पराकम्पन
आल्मलिएन ऊ दस सेकेण्ड पनि यात्राको क्रममा
बसिरहन मेरो बासस्थानमा
सम्झिदा आइरहन्छ ऊ पटक पटक मेरो निकटतामा
र बाहिरिन्छ ऊ
पुग्न अन्जान एउटा दूरत्वमा ।
* * *
मादी न.पा.– ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर




