राजनीति

ओलीको प्रतिवेदन लेख्दै शंकर पोखरेल, प्रचण्डलाई शिष्ट भाषामा जवाफ दिइने

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक मंसिर १३ गतेका लागि बोलाइएको छ । आइतबार बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपको एक एक जवाफ दिने गरी प्रतिवेदन लेख्ने क्रम जारी छ ।

स्रोतका अनुसार ओलीको प्रतिवेदन अहिले बालुवाटारमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लेखिरहेका छन् । यसपटक प्रधानमन्त्रीको प्रतिवेदनमा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई समावेश नगरिएको बुझिएको छ ।

सोही प्रतिवेदन लेख्नकै लागि पोखरेल एक सातादेखि काठमाडौंमै छन् । जवाफी प्रतिवेदन शिष्ट शैलीमा आउने, जसमा प्रचण्डको जस्तो आक्रोशयुक्त नहुने बालुवाटार स्रोतले बतायो । प्रचण्डले आफूलाई भ्रष्टाचारीको संरक्षक भनेर लगाएको आरोपको पनि शिष्ट र मर्यादित शैलीमा जवाफ दिइने भएको छ ।

ओलीको प्रतिवेदनलाई ‘पार्टीको भावी कार्यदिशा’ भनेर नाम दिइएको छ । प्रचण्ड र माधव नेपाल समूहले कात्तिक २८ गते सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई पुस्तकको रूपमा प्रकाशित गरी अध्ययनकका लागि तल्ला तहमा पठाइसकिएकाले पनि ओलीमाथि संकट थपिएको छ । ओलीले सचिवालय बैठकमा प्रस्तुत गर्ने प्रतिवेदनलाई पनि तल्ला तहसम्मै लगिने भएकाले पनि शिष्ट र मर्यादित शब्दमा लेख्ने काम भइरहेको हो ।

यसपटक महासचिव विष्णु पौडेललाई प्रतिवेदन तयार पार्ने काममा सहभागी गराइएको छैन । ओलीका विश्वास पात्र भएको र अब आफ्नो गुटको मुख्य नेता पोखरेललाई अघि बढाउने ओलीको तयारी छ । सोही कारण महासचिव पौडेल, प्रमुख सल्लाहकार रिमाललाई पनि सहभागी नगराइएको बताइन्छ । महासचिव पौडेलले सचिवालय नै विघटन गर्न र सबैले आफ्नो पदबाट राजीनामा दिन सचिवालय बैठकमा प्रस्ताव गरेपछि उनीसँग बालुवाटार असन्तुष्ट रहेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *