काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिज हर्षबद्र्धन श्रींगलाको राजनीतिक भेटघाटको समय तालिका सार्वजनिक भएको छ । उनले आजै राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने छन् ।
अहिले उनी होटल याक एन्ड यतिमा सचिवस्तरीय बैठकमा सहभागी छन् । उनी र परराष्ट्र सचिव भरतराज पौडेलबीच भेटवार्ता जारी छ ।
सचिवस्तरीय वार्ता सकाएर उनले दिउँसो साढे २ बजे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट्नेछन् । सचिव श्रींगलाले मन्त्री ज्ञवालीमार्फत नेपाललाई २००० भाइल रेमडिसिभिर हस्तान्तरण गर्नेछन् ।
त्यसपछि आजै साँझ ५ बजे सचिव श्रींगलाले प्रधानमन्त्री केपी ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ । उनी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानेछन् ।
प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटपछि उनी ६ बजे शीतल निवास जानेछन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको शिष्टाचार भेटघाटको समय रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भारतीय विदेश सचिव श्रींगलाले आजै बेलुका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने भएका छन् । तर, भेटघाटको समय सार्वजनिक भएको छैन ।




