राजनीति

प्रचण्ड-नेपाल समूहको सुनाकोठी भेला :ओली विरूद्धकाे रणनीति तय

काठमाडौं । नेकपाको विवाद चुलिँदै जाँदा अर्का अध्यक्ष पुष्पकमल दाहालसहित ७ नेताहरुको ललितपुरस्थित सुनाकोठीको एक घरमा गोप्य छलफल भएको छ ।

नेकपा उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भूषाल सहभागी थिए । उनीहरुबीच साढे दुई घण्टा छलफल भएको थियो । सो भेलामा झलनाथ खनाल र वामदेव गौतमलाई बोलाइएको थिएन । तर वादल समूहमा रहेकी भूषाललाई भने सहभागी गराइएको थियो ।

नेकपा निकटकै निरजगोविन्द श्रेष्ठ नामका विवादित एक व्यापारीको घरको भएको भेटघाटमा पार्टी देखिएको यो विवादलाई तल्लो तहसम्म लैजाने र छुट्टै भेला आयोजना गर्ने निर्णय गरेको स्रोतको दावी छ । स्रोतका अनुसार मंगलबार विहान प्रचण्डले माधवकुमार नेपाल, बामदेव गौतम र झलनाथ खनालसँग नियमित बैठक गरेका थिए । तीन जनासँगै बेग्ला बेग्लै छलफल गरेका थिए । सोमबार बिहान बामदेव र झलनाथ दुवैजना प्रचण्ड निवास खुमलटार पुगेका थिए । सचिवालयको आउँदो बैठकमा प्रस्तुत हुने रणनीति तथा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने जवाफी हमलाको सामना गर्ने विषयमा उनीहरु बीच छलफल भएको बताइएको छ ।

प्रचण्डले नेकपा कर्णालीमा पुन विवाद बल्झिने अवस्था देखिएपछि कर्णाली प्रदेशका सांसदहरुलाई पनि काठमाडौ बोलाइएको र त्यहाँ मूख्यमन्त्रीसँग भेटघाट गरेका थिए । विवादका बीच कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही काठमाडौं आएका छन् । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा उनको टिमसँग गम्भीर छलफल थालेका छन् । मुख्यमन्त्री शाही र प्रचण्डबीच मंगलबार बिहान डेढ घन्टा छलफल भएको थियो ।

शाहीसँगको छलफल लगत्तै प्रचण्डले नेकपाका उपाध्यक्ष बामदेव गौतम र नेता झलनाथ खनालसँग छलफल गरेका थिए । नेकपाको सचिवालय वैठक आउँदो १३ गते बस्दैछ । अर्का अध्यक्ष प्रचण्डले आरोपपत्र सार्वजनिक गर्नुभएपछि १३ गतेको बैठकमा ओलीले त्यसको जवाफ दिँदै छन् । ओलीको जवाफ भने लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले तयार पारिरहेका छन् ।

यसअघि झम्सीखेलको अगेनो रेष्टुरेण्टलाई आफ्नो अखडा बनाउदै आएको प्रचण्ड नेपाल समूहले त्यहाँ जाँदा गोप्यता भंग हुने भएकाले सुनाकोठीस्थित श्रेष्ठको घरलाई रोजेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *