काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीको धारणा स्पष्ट बुझ्न खोजेको बताएका छन् ।
अध्यक्ष दाहालको सचिवालयले सामाजिक सञ्जालमार्फत् विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ, ‘कार्तिक २८ गते पार्टी सचिवालय बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रस्तावमा न्यायापालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा स्पष्ट गरिएको छ ।’
सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । त्यहीँ क्रममा न्याय क्षेत्रमा ओलीले प्रभाव पार्न प्रयास गरेको आरोप लगाइएको छ ।




