राजनीति

संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको छ : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै संसद्को हिउँदे अधिवेशन बोलाउन सरकार र राजनीतिक दलहरुसँग छलफल भइरहेको बताएका हुन् ।

एक अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आगामी पुस १७ भित्रै अधिवेशन शुरु गर्नुपर्ने व्यवस्था छ । तर त्यसअघि नै संसद बोलाउन अधिकतम प्रयास भइरहेको सभामुख सापकोटाले बताए ।

सभामुख सापकोटाले संसद नचलेका बेला सरकारले ल्याएको अध्यादेशहरुमा सदनमा छलफल हुने उल्लेख गरे । नियमित बैठक बस्नुपर्ने र अधिवेशन लामो समयसम्म चल्ने भएकाले कोरोना नफैलियोस् भनी स्वास्थ्य सुरक्षाका विभिन्न उपायहरुमा पनि छलफल भइरहेको उनले बताए ।

संघीय संसद्को वर्षे अर्थात् बजेट अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान हुने व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *