सुदुरपश्चिम प्रदेश

भीम रावलको खुलासा, संघ र प्रदेश दुवैमा मन्त्रिपरिषद् हेरफेर हुन्छ

काठमाडौं । सत्तारुढ नेकपामा आन्तरिक विवाद उत्कर्षमै पुगेका बेला सो पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले संघ र प्रदेश दुवै तहका सरकारका मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । नेकपा सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहेका रावलले मंसिर १३ गतेको सचिवालय बैठकमा पार्टीमा देखिएको विवाद मिल्ने र दुवै तहका सरकारका मन्त्रिपरिषद् पुनर्गठन गर्ने खुलासा गरेका हुन् ।

आइतबार कैलालीको धनगढीमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रदेश र संघ सरकारको मन्त्रिपरिषद् फेरबदल गर्ने सहमति नजिक पुगेको बताएका हुन् ।

रावलको यो भनाइले अब नेकपाको भागमा परेका ६ वटे प्रदेशका मुख्यमन्त्रीहरू हेरफेर हुन सक्ने देखिएको छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्वमाओवादी पक्षका र बाँकी प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनीमा पूर्वएमाले पक्षका मुख्यमन्त्री छन् । त्यसमा पनि चारैजना ओली निकट मुख्यमन्त्री हुन् ।

नेकपामा देखिएको विवाद मिलाउन पनि भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयलाई अनुशरण गर्न लागिएको रावलले खुलाएका छन् । उनले सबै सरकार र संघ सरकारको मूल्यांकन गरी आवश्यक हेरफेर गर्ने निर्णयमा प्रष्ट लेखिएको जनाए ।

नेता रावलले नेकपा पार्टी माटोको हाँडीले नबनेको बताउँदै कुनै व्यक्तिले लठीले हानेर आजको मितिबाट फुट्यो भन्दैमा नफुट्ने दावी गरे । पार्टी विभाजनका लागि प्रक्रिया पूरा गर्नुपर्ने बताउँदै त्यो प्रक्रिया पूरा गर्न कोही पनि नलागेको उनको भनाय थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *