समाचार

कांग्रेसमा नीति कि नेतृत्व प्राथमिकतामा ?

लोकतान्त्रिक पार्टीमा महाधिवेशनको विशेष महत्व हुन्छ । महाधिवेशनले समग्रमा राष्ट्रिय राजनीति, आफ्नो आगामी योजना र देशको भविष्यमा सकारात्मक प्रभाव पार्न सक्दछ । अघिल्लो महाधिवेशनदेखि आगामी महाधिवेशनसम्म आइपुग्दा पार्टीको सबल पक्षलाई निरन्तरता दिँदै दुर्बल पक्षलाई सच्याउन अवसर पनि प्राप्त हुन्छ ।

महाधिवेशन मूलतः पार्टी कार्यकर्ताका लागि विशेष अवसर हो, सही र योग्य नेतृत्व चयन गर्ने । त्यसैले महाधिवेशनलाई एक ढंगले जनमत सर्वेक्षणका रूपमा पनि लिइन्छ । त्यो जनमतलाई विश्लेषण गरेर आफ्नो भूमिकालाई परिमार्जित गर्न मार्गप्रशस्त हुन्छ । पार्टीको नीति, भावी योजनासँगै देशभरबाट छनोट भएका महाधिवेशन प्रतिनिधिको सामूहिक छलफल र गहन विश्लेषणबाट निस्केको निष्कर्ष र नयाँ नेतृत्वको सन्देशलाई आत्मसात गर्दै नयाँ ढंगले अघि बढने सुनौलो अवसर पनि हुन्छ ।

०७४ मा सम्पन्न निर्वाचनमा नेपाली जनताले दिएको जनमतलाई शिरोधार्य गरेर नेपाली कांग्रेसले शालिन प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ । विगतमा सडक र सदन दुवै ठाउँमा रेलिङदेखि कुर्सी र रोस्ट्रमसम्म तोडफोड गर्ने अराजक र उदण्ड प्रतिपक्ष हेर्न बाध्य हुँदै आएको अन्य राजनीतिक दलले पनि शालिन र जिम्मेवार प्रतिपक्षीय भूमिका निर्वाह गरेको कांग्रेसबाट पाठ सिक्नु जरुरी छ । शान्ति स्थापना, नेपालको नयाँ लोकतान्त्रिक संविधान लेखन र घोषणा तथा निर्वाचनमार्फत तीन तहको सरकारको अस्तित्व निर्माण गरेर ऐतिहासिक दायित्व पूरा गरेको कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता र समृद्धिको यात्रालाई गति दिन जिम्मेवार प्रतिपक्षका रूपमा रचनात्मक भूमिका निर्वाह प्रभावकारी रूपमा गर्नु आवश्यक छ । लोकतान्त्रिक विधिबाट निर्वाचित भएर आएकाले नै जनताको विश्वासमाथि विश्वासघात गर्दै राज्यको प्रणालीमाथि आक्रमण गरेर कसरी सत्ता टिकाउन सकिन्छ भन्नेमा केन्द्रित रहेकाले नेपाली कांग्रेस चनाखो हुनु जरुरी छ ।

यो अवधिमा वर्तमान सरकारले अनेक जनविरोधी क्रियाकलाप गरेको जनतासामु घामझै छर्लंग छ । कम्युनिस्ट पार्टीलाई विश्वास गरेर मत दिने नेपाली जनताको विश्वासविपरीत कम्युनिस्ट सरकारले गरेका गलत कामको भण्डाफोर गर्दै नेपाली जनतालाई सचेत गराउन पछि पर्नु हुँदैन । नेपाली कांग्रेसका संस्थापक नेताहरूले परिकल्पना गरेको लोकतान्त्रिक चरित्र र संस्कार भएको पार्टीलाई सामूहिक विचार, लोकतान्त्रिक विधि र पद्धतिअनुसार चलाउन सक्ने र आफ्नो विचारमा अडिग रहने नेतृत्वको पक्षमा नेता कार्यकर्ता उभिनु जरुरी छ । जुन नेतृत्वले सबल पक्षलाई आत्मसात गर्दै कमीकमजोरीलाई सुधार गर्ने प्रतिबद्धतासहित जनताको मन जित्न पनि आवश्यक छ ।

महाधिवेशनपछि कार्यकर्ताको भावना र विश्वास आमनेपाली जनताको चाहना अनुरुप नेपाली कांग्रेस कार्यदिशा बनाएर अघि बढे आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी बन्न सक्छ ।

एक दशक लामो हिंसा अन्त्य गरेर शान्ति प्रक्रिया अघि बढाउँदै संविधानसभाको सफल निर्वाचनसँगै संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन गरिरहँदा मुलुकको नेतृत्व कांग्रेसले गरेको थियो । सफल निर्वाचनसँगै कांग्रेस दोस्रो दल बन्न पुग्यो । त्यो संविधानसभाको कार्यकालमा चार कम्युनिस्ट नेता प्रधानमन्त्री बने, तर उनीहरूको नेतृत्वमा नेपालको संविधान बनेन । त्यस्तो असफलता चिर्न कांग्रेस नै सक्षम भयो । फलस्वरूप दोस्रो संविधानसभामा नेपाली जनताले कांग्रेसलाई ठूलो दल बनाएपछि कांग्रेसको नेतृत्वमा संविधानसभामार्फत मुलुकले नेपालको संविधान प्राप्त गर्न सफल भयो ।

नयाँ लोकतान्त्रिक संविधानलाई कार्यान्वयन गर्ने ऐतिहासिक जिम्मेवारी सम्पन्न गर्दै संविधान जारी हुँदा कतिपय प्रश्नमा असन्तुष्टि प्रकट गरिरहेको तराई–मधेसलगायतको भू–भागका नागरिक र स्थानीय राजनीतिक दलहरूसमेतलाई विश्वासमा लिएर कांग्रेसको सफल नेतृत्वमा निर्वाचन सम्पन्न भयो । यसरी शान्ति स्थापना, संविधान निर्माण र निर्वाचन गराउने राष्ट्रिय अभिभारा पूरा गरेर नेपाली कांग्रेसकाे देशलाई समृद्धिको यात्रामा अघि बढ्न सहज मार्गमा ल्याउन मुख्य भूमिकालाई नजरअन्दाज गर्न सकिन्न ।

जटिल समय संसद्मा अंकगणितमा दोस्रो र तेस्रो रहेका ठूला दुई राजनीतिक दल मिलेर चुनावी मैदान एकता साथ रहेपछि कांग्रेसको अंकगणित कम भए पनि लोकप्रियता रहेको मत कायम नै रह्यो । इतिहासकै सबैभन्दा सहज र अनुकूल राजनीतिक वातावरण प्राप्त गरेको दुई तिहाइ नजिक रहेको नेकपाको सरकारको गतिविधि, यो समयमा भएका राष्ट्रियताका बहस आफ्नो पार्टीको गतिविधिसहित महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुन्छ ।

पार्टीका संस्थापक नेताको योगदान र हाम्रो पार्टीको नेतृत्वमा भएका सबै उपलब्धिलाई रक्षा गर्दै देशको आमूल परिवर्तनसँगै समृद्धितर्फ लैजान पार्टीको अबको भावी कार्यनीतिसँगै जनविरोधी कार्यका साथ असफलता व्यहोरिरहेको सरकारको गतिविधि सच्याउन सडक र सदन दुबैबाट कांग्रेस तयार छ भन्ने सन्देश दिनु जरुरी छ । हाम्रो गौरवमय इतिहाससँग गर्व गर्दै नेपाली कांग्रेस लामो संघर्षको पाइला, पार्टी संगठन निर्माण र देशका लागि आफ्नो ज्यान बलिदान दिने र बीपी कोइरालाको विचार, अग्रज नेताको विश्वास, योगदान र भरोसा गरेको पार्टीलाई सशक्त बनाउन आमकांग्रसीजन चुक्नु हुँदैन । अबको महाधिवेशनबाट नीतिमा गहन छलफल गर्दै सबैलाई समेटेर सर्वसम्मत नेतृत्व चयन गर्न सकेमात्र नेपाली कांग्रेसलाई प्रतिस्पर्धी पार्टीको तुलनामा अब्बल बनाउन सकिएला ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *