म लेख्छु यौटा कविता कथेर
स्वदेश दुब्लो अपसोच धेर ।
उद्घोष घोष समता भयो र ?
उत्साह आशा असरल्ल भोर ।१।
मिलेर लेख्यौँ नव संविधान
झुल्को झुसी घाम थियो बिहान।
हाँसेर पग्ल्यो हिमवत् खुसी त्यो
कसी कलेजी फितलो मसी भो ।२।
रबाफ संघात्मक सानबान
उत्सर्ग सारा सपना तमाम ।
उदारता स्वाङ सिँगारिएझैँ
स्वच्छन्दता सङ्गम उर्लिएझैँ।३।
नसङ्लिंदो भेल भयो अमेल
दरिद्रताको अविवेक खेल ।
फाल्यौँ पुरानो नव वस्त्र लायौँ
पुर्खा जिबा बाँनर भै रमायौँ ।४।
नङ्ग्याउदैछौ जननी सतायौँ
लुछेर त्यो सुन्दरता चपायौँ ।
सोरेर आफ्नै ढिकुटी भरायौँ
धोका घडी बेगर के कमायौँ ? ।५।
छ दोहनै दोहित अर्थतन्त्र
र दोबरी चौबर भ्रष्ट यन्त्र ।
‘सेवा गरौँ’को भव भाव छैन
स्वार्थान्धता सात्विक सार हैन ।६।
झुकाब भो सोख सबै पुरानो
बद्लेन यो देश भएन रानो ।
वाचा गरे बन्छ कि सोच सग्लो ?
सत्पात्र हौँ राष्ट्र रचौँ उपल्लो ।७।
( मादी न पा ६, सङ्खुवासभा, हालःलोकन्थली, भक्तपुर)




