काठमाडौं । नेपाली कांग्रेसले २५ दिनभित्र नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन सबै जिल्लालाई निर्देशन दिएको छ ।
पार्टी मुख्यसचिव कृष्ण पौडेलले ७७ ओटा जिल्लाका सभापतिहरुलाई यही मंसिर मसान्तभित्र क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन पत्राचार गरेको बताए । गएको कात्तिक २८ गते सम्पन्न भएको केन्द्रीय कार्यसमिति बैठकको निर्णयबमोजिम जिल्ला सभापतिहरुलाई निर्देशन दिने काम भएको मुख्यसचिव पौडेलले बताए ।
सदस्यहरुको सूची केन्द्रमा आइसकेपश्चात् महाधिवेशन कार्यतालिका हेरफेर गर्ने विषयमा पुनः केन्द्रीय कार्यसमिति बैठक बसेर छलफल गर्ने सहमति संस्थापन र इतर पक्षबीच भएको छ । पार्टीले सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन तल्ला तहका संरचनालाई निर्देशन दिइसकेको मुख्यसचिव पौडेलको भनाइ छ ।
कांग्रेसले १४औं महाधिवेशनमा क्रियाशील सदस्यको संख्यामा दोब्बरले वृद्धि गरेर करिब १० लाख पुर्याउने तयारी गरेको छ । यसअघि निर्धारण गरिएको कार्यतालिकाअनुसार भदौ मसान्तभित्र क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउने पार्टीको तयारी थियो ।




