काठमाडौं । लामो समयपछि सत्तारुढ नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेता कार्यकर्ताको चहलपहल शुक्रबार देखियो । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेललगायतसँग भेटघाट गर्न बोलाएपछि धुम्बाराहीमा चहलपहल देखिएको हो ।
यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा नेता कार्यकर्ताको भिड लाग्न थालेको थियो । तर, पार्टीमा विवाद उत्कर्षमा पुगेपछि कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटारभन्दा धुम्बाराही रोजेका हुन् । त्यसैले नेता कार्यकर्ता पार्टी मुख्यालयमा देखिएका हुन् । शुक्रबार प्रचण्डले सुरुमा महासचिव पौडेल, उपनेता नेम्बाङसँग कुराकानी गरेका थिए । त्यही बेला उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वएमालेका नेता कार्यकर्तालाई भेटेका थिए ।
प्रचण्डसँगको कुराकानीपछि स्थिति निकै गम्भीर रहेको महासचिव पौडेलले सञ्चारकर्मीलाई बताएका छन् । प्रधानमन्त्री केपी ओलीले पनि प्रतिवेदन लेख्ने र बैठकमा पेस भएमा स्थिति जटिल बन्ने प्रचण्डले संकेत दिएका छन् । पौडेलले भने मिलेर अघि बढ्न सुझाएका थिए । यदि पार्टी विभाजन भएमा जो पार्टी मुख्यालय जान्छ, उनीहरूले नै कब्जा गर्ने भय नेता कार्यकर्तामा देखिएको छ ।




