रिबन

किन आउँदैछन भारतीय विदेश सचिव हर्षबर्दन नेपाल भ्रमणमा ?

श्रृंगला नेपालीमूलका हुन्

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला यही मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका छन् । गत पुसमा भारतको विदेश सचिव नियुक्त भएका श्रृंगलाले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन् । भ्रमणको क्रममा श्रृंगलाले समकक्षी भरतराज पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रमसमेत तय भएको छ ।

गत वर्ष भारतले कालापानी लगायतको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेयता दुई देशबीचको सम्बन्धमा चिसोपन रहँदै आएको छ । उनको भ्रमणले दुई देशको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ । विदेश सचिव श्रृंगलाको भ्रमणलगत्तै दुवै देशको परराष्ट्र मन्त्रीस्तरमा समेत भ्रमण हुने तयारी भइरहेको स्रोतले जनाएको छ ।

पछिल्लो समय नेपाल–भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा समस्या हल गर्ने, विकास आयोजनामा भारतीय लगानी बढाउने लगायत विषयमा आन्तरिक छलफल भइरहेको छ । ‘भारतले सीमा समस्या समाधान सँगसँगै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउन ठोस सहमति गर्न खोजेको बताइएको छ । ‘भारतले नेपाली जनताले देख्ने गरी ठूला परियोजनालाई समेत अगाडि बढाउन खोजेको देखिन्छ’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

को हुन् सचिव श्रृंगला
सचिव श्रृंगला नेपाली मूलकी हरिदेवी बस्नेतकी छोरा हुन् । दार्जिलिङ् निवासी श्रृंगलाको ससुराली घर भने नेपालको इलाम जिल्ला रहेको बताइन्छ । यसअघि बाङ्लादेशमा राजदूत रहिसकेका उनी हिन्दी, अंग्रेजी, बंगाली र नेपाली भाषा फरर्र बोल्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *