काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको डिलमा दुई अध्यक्ष उभिएका छन् । त्यो डिलबाट धकेलेर कसैले कसलाई संधैंको निम्ति भड्खालोमा जाक्न सकिन्छ भन्ने रणनीति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बालुवाटारमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षले खुमलटारमा यतिबेला बनाइरहेका छन् ।
हिजो मंगलबार साँझ ओली र दाहाल दुवैले राष्टपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । त्यसभन्दा अघि चिनियाँ राजदूत हाउ यान्छी बालुवाटार छिरेर प्रधानमन्त्री ओलीसँग १ घन्टा लामो छलफल गरेकी थिइन् । राजदूत यान्छीसँग भेटेलगत्तै प्रधानमन्त्री ओली राष्टपति भण्डारीलाई भेट्न शितल निवास दौडिएका थिए ।
हिजो मंगलबारको यी राजनीतिक परिदृश्यले आज डाकिएको नेकपा सचिवालयको बैठक के हुने भन्ने अन्योलमा छ । यो बैठकलाई छल्न प्रधानमन्त्री ओलीले १ बजेलाई मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
हिजोको भेटमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी राजनीतिमा हस्तक्षेप गरे संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने धम्की दिएको विश्वस्त स्रोतले संकल्प खबरलाई बतायो । यो धम्की सुनेलगत्तै प्रधानमन्त्री ओली दौडेर शितल निवास छिरेका थिए । आज बिहानैदेखि प्रधानमन्त्री संसद विघटनका लागि कानुनविद्हरुसँग परामर्शमा जुटेका छन् । यसको छिनोफानो दिउँसो १ बजेको मन्त्रिपरिषद्को बैठकपछि हुने बुझिएको छ ।




