काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको बुधबार बस्ने सचिवालय बैठक रोक्न महासचिव विष्णु पौडेलको धौडधूप चलेको छ । उनलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पठाए । प्रधानमन्त्री ओलीको सन्देश बोकेर उनी प्रचण्ड निवास खुमलटार पुगेका हुन् । खुमलटार पठाइएका पौडेलले ठोस सन्देश के लगे भन्ने खुलिसकेको छैन ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेल अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भोलि बुधवार बस्ने सचिवालय बैठक र अघिल्लो बैठकमा प्रचण्डले पेस गरेको प्रस्तावबारे छलफल गरेको बुझिएको छ ।
ओली बुधवार बस्ने भनिएको सचिवालय बैठकमा सहभागी नहुने पक्षमा छन् । त्यसका लागि उनले आफ्ना दूतमार्फत प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न दबाब दिइरहेका छन् । सोही योजनाअनुसार ओलीले आइतबार र सोमबार विभिन्न पक्षका नेताहरूसँग भेटवार्तालाई तीव्रता दिएका छन् ।




