राजनीति

नेपाललाई अध्यक्ष र गौतमलाई सरकारमा उपप्रधानमन्त्री प्रस्ताव

काठमाडौ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहलले सचिवालय बैठकमा राजनीतिक दस्तावेज नै पेश गरेपछि पार्टीका महासचिव विष्णु पौडेलको मध्यस्थतामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वएमालेका नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमसँग परामर्श बढाएका छन् ।

पार्टी सचिवालयका बहुमत सदस्यको समर्थनमा प्रचण्डले ओलीप्रति आक्रामक प्रस्ताव पेस गरेलगत्तै उनले पार्टीका अन्य प्रमुख नेताहरुसँग आफूलाई सहयोग गर्न आग्रह गर्दै परामर्श बढाएका हुन् । आइतबार बिहान पार्टी महासचिव विष्णु पौडेलको उपस्थितिमा उपाध्यक्ष गौतमलाई भेटेर आफूलाई साथ दिन आग्रह गरेका प्रधानमन्त्री ओलीले अपरान्ह वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमति जुटाउने प्रयास गरेका थिए ।

पार्टी अध्यक्ष ओलीले नेपाललाई भावी अध्यक्ष र गौतमलाई सरकारमा उपप्रधानमन्त्रीको प्रस्ताव गरेको स्रोतको दावी छ । गौतम र नेपाल दुवैसँग बालुवाटारमा भएको छुट्टाछुट्टै भेटमा महासचिव पौडेल साथमै थिए । ‘अहिलेको संकट समाधान गर्न सहमति जुटाउने प्रयासस्वरुप प्रधानमन्त्रीले नेपाल र गौतम दुवै नेतासँगको भेट गर्नुभएको हो,’ दुबै भेटबारे जानकार एक नेताले बताए । प्रचण्डबाट ‘अत्यन्त आक्रामक र गालिगलौजपूर्ण प्रस्ताव’ आएपछि उनीसँग तत्काल सहमति हुने संभावना नदेखेर ओलीले अन्य नेताहरुसँग कुराकानी बढाएको ती नेताको भनाइ छ । स्रोतका अनुसार प्रधानमन्त्रीले वामदेव गौतमलाई सरकारमै सहभागी बनाउने गरी समर्थन प्राप्त गर्ने प्रयास गरेका छन् । त्यसैगरी ओलीले नेपाल र गौतम दुवैको सहयोग प्राप्त गर्नका लागि आउने महाधिवेशनमा नेतृत्वबारे समझदारी गर्ने प्रस्तावका साथ कुराकानी अघि बढाएका छन् । स्रोतका अनुसार महासचिव पौडेल कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि सम्पर्क र संवादमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका पाँच सदस्यहरुसँग अलग्गै अनौपचारिक छलफल गरेका छन्। पार्टीको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेलसँग अलग्गै छलफल गरेका हुन् । यसअघिको सचिवालय बैठक सकिए लगत्तै कार्यकारी दाहाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बाहिरिएपछि प्रधानमन्त्री ओलीले पाँच जना नेताहरुलाई एकैछिन काम छ भनेर बालुवाटारमा अलग्गै छलफल गरेका थिए ।

शुक्रबारको सचिवालय बैठक बालुवाटारमा केही समय बसेर सकिएको थियो । बैठक सकिएपछि उनीहरुसँग छलफल गरेका थिए । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ नेताले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पत्र र त्यसबारे ओलीले दिएको जवाफ अध्ययनका लागि नेताहरुलाई दिइएको छ । अध्यक्ष द्वयका पत्र अध्ययनपछि बैठक मंसिर ३ गते बस्ने भएको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *