फलफूल नुहेपछि सुन्दरता
दिलभित्र गडेपछि प्रेम लता
चिंचिरी चुचीले स्वर खोल्छ चरी
शरदै किन खुल्दछ यो यसरी ! ।१।
घर–आँगन–चोक सबै छ सफा
लिपपोत गरेर भयो रमिता
पुतली भमरा महुरी रजमा
फल पुष्प पराग अजायबमा ।२।
नव भेट र घाट जमात नयाँ
नमिठो परिकार हँुदैन यहाँ
मसिनो रसिलो मुख भो खुसिलो
सबका घरमा मृदु चाल चुलो ।३।
वरका परका फिर आँगनमा !
अभिवादन वादन हुन्छ जहाँ
किन मस्त भयौँ ? किन व्यस्त भयाैँ ?
शरदै ऋतु रम्य सुरम्य सयौं ।४।
घरको सपनी परको तपनी
अनुराग र राग पराग पनि
निशि झार बुटा कुँद शीत कला
सरिफा कदली तल माथि तला ।५।
गहना छ सजावट फेसनमा
मन दैनिक नित्य उदारपना
सुषमा अवनी खुसमा रजनी
छ कि चाड र पर्व दिनै नगनी ।६।
शिशु बाल क्षुदा अवयस्क युवा
पिङमा पल साँझ बिहान हुँदा
शशि सूर्य सिंगार दुई महिना
नकि बादलको दल दर्शनमा ।७।
बिजुली न झरी न त हर्ष गयो
मुलुकैभरि ताल र मेल छ यो
उखुमै न कडा न त शीतल नै
शरदै ऋतु नम्र सुनम्र सधैँ ।८।
पदम दाहाल, मादी न पा ६,
सङ्खुवासभा, हालः लोकन्थली, भक्तपुर




