लक्ष्मी प्रसास देवकोटा नेपाली साहित्यका महाकवि हुन् । महाकवि देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् । देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो, तर उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा थियो ।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु ।’ तर उनी चाहिँ जन्मेदेखि नै रोगी थिए । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । देवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन । उनले महाकाव्य, लामा बर्णनात्मक कविताहरू निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू, र समालोचना हरू लेखेका छन्। कविता पढेजस्तै अनुभव हुने देवकोटाका निवन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रसंसायोग्य छन्। देवकाेटाद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि अत्याधिक विक्री हुने कृतिमा पर्दछ। मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। दुःखमा दुःख थपिएझैँ, देवकोटालाई १९५८ (बि सं२०१५)मा क्यान्सर लागेको थाहा भयो। भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिए पछि उनलाई आफ्नो मृत्यु आएको पक्का भयो । उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले । एक वर्षपछि वि.स.२०१६ साल भाद्र २९ गतेका दिन उनको मृत्यु भयो ।
सान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए( “मृत्यु मेरो अगाडि छ । म आकासमा नक्षत्रहरू खोज्छु तर भेट्दिन। म आफुलाई शान्ति दिन सक्दिन । म उठ्न सक्ने भए, म आफु र आफ्ना बच्चाहरूलाई मार्नेथिएँ । यसर्थ उनको विषयमा धेरै रोचक तथ्यहरु छन् ।
देवकाेटाबारे १० तथ्यलाई यहाँ प्रस्तुत गरिएको छ
१. देवकोटा केही लेखिरहेको बेला कस्तो विधि एकाग्र हुन पुग्थे भने थाहा नपाइकन आफ्नै कविताका पानाहरू चुरोटमा बेरिरहेका अथवा सिंगान पुछिरहेका हुन्थे ।
२. जुवाका पनि अम्मली मानिएका देवकोटा हार्मोनियम बजाउन रुचाउँथे । हार्मोनियम बजाएरै उनी सिंगो रात बिताइदिन सक्थे ।
३. देवकोटा गरिब थिएनन् बरु केटौले पाराका अव्यवहारिक थिए । जतिजति बेला उनीसित पैसा हुन्थ्यो, उनी त्यसलाई कसरी खर्च गरिहाल्ने भनेर सोच्न थाल्थे । एक दिन उनीसित प्रसस्तै रकम हुन्थ्यो तर भोलिपल्ट उनी भोकै सुत्नुपर्ने अवस्थामा हुन्थे । उनको यस्तो बहुलठ्ठीपूर्ण व्यवहारको एउटा प्रमुख कारण उनकी पत्नी मनदेवी थिइन् जो अत्यन्तै धार्मिक प्रकृतिकी थिइन् र धार्मिक कार्यहरू भन्दै अनियन्त्रित रकम स्वाहा पार्ने गर्थिन् । मानवतावादी सोच र स्वभावका महाकविलाई यो पटक्कै चित्त बुझ्दैन थियो, त्यसकारण उनी आफ्नो कमाइको थोरै रकम मात्र घर लिएर जान्थे ।
४. सन् १९५३ मा रोमानिया भ्रमणमा गएको बेला महाकविले कम्बल, डसना र तकिया घरबाटै लिएर गएका थिए र हरेक समय आफूसँगै राखेका थिए । स्वभाविक तवरले मानिसहरू उनलाई अनौठो मानेर हेर्थे र उनले आफ्नो ओछ्यान बोकेर हिँडेको देखेर छक्क पर्थे ।
५. उनी त्यतिबेला १६ वर्ष पुगेका थिए जतिबेला उनको विवाह मनदेवी चालिसेसित भएको थियो ।
६. जतिबेला महाकविले ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भन्ने कविता लेखे, धेरैले उनलाई बहुलाएको आरोप लगाए । तर संयोगवश विक्रमाब्ध २०१६ भदौ २९ गते महाकविको मृत्यु भयो, त्यसै दिन सोभियत संघको लुना–९ नामक यान चन्द्रमामा अवतरण गरेको थियो । मानिस पहिलोपटक चन्द्रमामा पुगेको थियो ।
७. पढाइमा अत्यन्त मेधावी महाकविलाई दरबार हाइस्कुलमा पढ्दै गर्दा कक्षा आठबाट एकैचोटि कक्षा दशमा बढुवा गरिएको थियो ।
८. भारतको राँचीमा उनको तथाकथित ‘पागलपन’ को उपचार भइरहँदा डाक्टर ओवेन बर्कले–हिलले भनेको थिए, ‘देवकोटा जस्तो प्रतिभा नेपालमा जन्मनु भौगोलिक भूल हो । उनी पागल छैनन्, बरु उनलाई पागल भन्ने र भन्न लगाउने तिमीहरू नै पागल हौ ।’
९. देवकोटालाई मदन पुरस्कार दिइएन । वास्तवमा, मदन पुरस्कारको स्थापना गर्ने रानी जगदम्बाले उनी र उनका कृतिहरूबारे थाहा पाएको भए महाकविलाई त्यो पुरस्कार दिने मात्र नभई संरक्षकत्व नै प्रदान गर्ने थिइन् । महाकविलाई रानी जगदम्बाको निकट जान नदिन अथाह षडयन्त्रहरू भएका थिए ।
१०. देवकोटाले कहिल्यै कुनै योजना बनाएर त्यस अनुकूल काम गरेनन्, न त उनले कुनै महत्वपूर्ण निर्णय नै आफैँले गरे । बालसुलभ स्वभाव पाएका देवकोटाले आजीवन त्यही बालसुल निर्दोष चरित्रले दिनसक्ने परिणति भोगिरहे ।
अनुवादः जयदेव गौतम




