काठमाडौं । नेपाल भ्रमणबाट फर्के लगत्तै भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले शुक्रबार कालापानी क्षेत्रको भ्रमण गरेका छन । नेपाल भ्रमणबाट फर्केको एक सातामै भारतीय सेनाका प्रमुखको कालापानी भ्रमण गरेका हुन् । कालापानी भ्रमणमा जानुअघि विहीबार उत्तराखण्डको पिथौरागढमा रहेको सेनाको पृतनामा बसेका नरवणे शुक्रबार विहान दलबलसहित हेलिकप्टरबाट कालापानी पुगेका हुन् ।
सेनाध्यक्षको कालापानी भ्रमणलाई भारतले अति गोप्य राखेको छ । भारतीय वायु सेनाको जहाजबाट दिल्लीबाट उत्तर प्रदेशको वरेलीमा रहेको वायु सेनाको हवाई वेसमा र त्यहांबाट सेनाकै हेलिकोप्टरबाट उनी पिथौरागढ पुगेका थिए । त्यहांबाट उनले लिपुलेक, कालापानी तथा कैलाशमानसरोवर जान भारतले हालै निर्माण गरेको सडकको समेत स्थलगत तथा हवाई निरीक्षण गरेका थिए। उत्तराखण्ड स्थित आजतक टेलिभिजनका पत्रकार राजेश छावडाले भारतीय सेनाध्यक्ष नरवणेले कालापानीको भ्रमण गरेको जानकारी दिएका छन् ।
एक वर्ष अघि नेपालको कालापानी क्षेत्रलाई समेत समेटेर भारतले नयाँ नक्शा जारी गरेपछि बढेको नेपाल भारत सीमा विवाद पछिल्लो पटक नेपालले लिपुलेक समेत समेटेर नयाँ नक्शा जारी गरेपछि उत्कर्षमा छ । करिव ७ महिनाअघि सोही क्षेत्रमा भारतले एक तर्फि रुपमा कैलाशमानसरोवर जाने सडक निर्माण गरेको थियो ।
नेपाल भारत सिमा विवाद उत्कर्षमा रहेकै बेला पछिल्लो पटक रअ प्रमुख सामन्त गोयल र त्यस लगत्तै भारतिय सेनापति नरवणेको भ्रमण भएको थियो। पछिल्ला दुई भ्रमण सकारात्मक बन्दै गएपछि भारतले विदेशसचिव र मन्त्री स्तरमा भ्रमणको अन्तिम तयारी गरेको छ । नेपाली सेनाका सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आएका नरवणेले आफ्नो तीन दिने औपचारिक भ्रमण सकेर गत शुक्रबार मात्रै दिल्ली फर्केका थिए ।




