राजनीति

यस्तो रहेछ प्रचण्डसँग बादलको असन्तुष्टि, भन्छन्, पार्टी फुट्न खोजे आइहाल्छु नि !

काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक समीकरण कुन नेता कसको पक्षमा भन्ने कुरा अलि अलिबाहेक सबै देखिएकै छ । प्रधानमन्त्री केपी ओली, पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालको आ–आफ्नै गुट छ ।

तर, सबैभन्दा चासोको विषय भने गृहमन्त्री रामबहादुर थापा बादलले किन ओली गुट रोजे र प्रचण्डलाई सहयोग गरेनन् भन्ने देखिएको छ । ओली र प्रचण्डबीचको आन्तरिक संघर्षमा बादलले ओलीलाई साथ दिएपछि मोहन वैद्यको पार्टी छाडेर तत्कालीन एनेकपा माओवादीमा प्रवेश गरेका बादल समूहको भेला केही दिनअघि काठमाडौंमा बसेको थियो । भेलामा बादल, देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलमान केसीलगायत एक दर्जन बढी नेता सहभागी थिए ।

भेलामा नेता गुरुङले प्रचण्डलाई छाडेर ओलीलाई किन साथ दिएको भन्दै प्रश्न गरेका थिए । उनले प्रचण्डभन्दा ओली क्रान्तिकारी लागेर हो भन्नेसमेत प्रश्न गरेको बताइन्छ । नेतृ भुसालले समेत गुरुङकै भनाइमा साथ दिएकी थिइन् ।

जवाफमा बादलले आफूहरू मोहन वैद्यलाई छाडेर एमामाओवादीमा प्रवेश गरे पनि आफूबाहेक अरु नेतालाई जिम्मेवारी नदिएको, आफूलाई गृहमन्त्रीबाट प्रचण्डले पटक पटक हटाउन खोजेको, नारायणकाजी श्रेष्ठलाई चाहिनेभन्दा बढी च्यापेको भन्दै गुनासो गरेको बुझिएको छ । तर, उनले प्रचण्डभन्दा ओली क्रान्तिकारी नभएको भन्दै पार्टी फुटको अवस्थामा आए प्रचण्डलाई साथ दिने भन्दै नेताहरूलाई आश्वस्त पारेको स्रोतले बतायो ।

नेकपाको नौ सदस्यीय सचिवालयमा ओली, बादल, विष्णु पौडेल र ईश्वर पोखरेल एकातिर छन् भने प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ अर्को पक्षमा छन् । यदि बादलले पनि आफूलाई साथ दिएको भए सचिवालयमा ६ जना हुने र ओलीलाई पार्टीको निर्णय मान्न बाध्य गराउन सकिने प्रचण्डको आकलन थियो । बादलकै कारण लेखराज भट्ट पनि आफूसँग भड्केको भन्दै प्रचण्ड उनीसँग रुष्ट रहेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *