देश

पाँच डिआइजी थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमै अलपत्र

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीको ५ डिआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएपनि त्यो अहिलेसम्म पास हुन नसक्दा अलपत्र परेको छ । मन्त्रिपरिषदले दरबन्दीका बारेमा कुनैपनि निर्णय नगरेका कारण ३ महिनादेखि डीआइजी थप गर्ने प्रस्ताव रोकिनुका साथै बढुवा हुनसकेको रोकिएको छ ।

डीआइजीका १२ दरबन्दी निलम्बनमा भएकाले तीमध्ये ५ पद कायम गरी बढुवा गर्ने प्रहरीको मागलाई ध्यानमा राखी मन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो । ‘प्रहरीको माग अनुसार नै गृहमन्त्रालयले मन्त्रिपरिषदमा ५ दरबन्दी कायम गरी रिक्त ३ समेत ८ डीआइजी पदमा बढुवा गर्न प्रस्ताव पनि लगिसकेको छ, अब केही दिनमै मन्त्रिपरिषदबाट स्वीकृत हुन्छ होला’, गृहमन्त्रालय स्रोतले भन्यो । गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्य संयोजक रहेको संगठन तथा ब्यवस्थापन सर्वेक्षण(ओएण्डएम) समितिले तीन महिना अघि नै डिआइजीको दरवन्दी थप गर्ने प्रस्ताव लगेको थियो ।

प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालय पनि पाँच डीआइजी आवश्यक रहेको निष्कर्षमा पुगेपछि सो प्रस्ताव गएको हो । लागूऔषध ब्यूरो, साइबर ब्यूरो, जुनियर प्रहरी तालिम शिक्षालय भरतपुर, विमानस्थल सुरक्षागार्ड (एयरपोर्टं) र सुरक्षा निर्देशनालयमा डीआइजीकै दरबन्दी आवश्यक भएकाले पाँच डीआइजीका दरबन्दी कायम राख्नुपर्ने पक्षमा प्रहरी नेतृत्व र गृह मन्त्रालय रहेको थियो । संघीयता लागू भइसकेको र संघमा थोरै संख्यामा प्रहरी रहने हुनाले सरकारले २०७६ चैतमा प्रशासनतर्फका २६ डीआइजीमध्ये १२ पद निलम्बन गरी १४ कायम गरेको थियो । निलम्बनमा राखिएका डीआइजीका दरबन्दी आवश्यक परे ओएण्डएम गरी पुनः कायम गर्नसकिने भनिएको थियो । पाँच डीआइजी आवश्यक पर्ने देखेर प्रहरीको माग अनुसार गृहले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो । तर मन्त्रिपरिषदले स्वीकृत नगरेकाले रिक्त रहेको तीन दरवन्दीमा पनि डिआइजी बढुवा हुन सकेका छैनन ।

तत्कालीन आइजीपी ठाकुर ज्ञवाली, एआइजी तारिणी लम्साल र डीआइजी सूर्य उपाध्यायको अवकाशपछि ३ डीआइजी पद रिक्त रहेको छ । तीन डीआइजी बढुवाका लागि हालका आइजीपी थापाकै समूहका एसएसपीहरु पनि दाबेदार छन् । त्यसबाहे डीआइजी बढुवाका दाबेदार एसएसपीहरुमा गणेशबहादुर ऐर, दिवेश लोहनी, पुरुषोत्तम कँडेल, दिलीप चौधरी, राजेशलाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनीसहित ९ जना छन् । २०७५ साल जेठमा प्रवेश गरेका विश्वराज पोखरेल, धिरजप्रताप सिंह,सहकुल थापा, हरुको समूहका १५ एसएसपी पनि बढुवाको दौडमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *