मुर्चुङ्गा र बिनायोले देशको माया गाँसी रा’छ
धिमे बाजा मादलुमा तराई हिमाल हाँसी रा’छ
सारङ्गी र टुङ्नासित बोल्दै देश पग्लिन्छ रे !
च्याबु्रङ, ढोलकी र मुरलीले उत्सव अग्लिन्छ रे ! ।१।
सँगिनी र सोरठी छन् रोदी घर छन् पहाडमै
लाखेनाच सेलो देउडा गाउँ बस्ती कछाडमै
नौमतीको मिठो धुनमा नाचूँ लाग्छ बगानमै
संस्कृतिको बहुलता साँचू लाग्छ आँगनमै ।२।
अल्मोडा र काङ्गडा ती वीरताका मेरै गाथा
नागबेली कालापानी नालापानी नेपालका
सगरमाथा उक्लिएर चन्द्रसूर्य रोप्छु जैले
ओर्लिएर लुम्बिनीमा शान्ति गीत लेख्छु मैले ।३।
कुँदिएका सुनका लिपि अरनिको र भृकुटी
बुद्ध मेरै राम सीता हिमालका धुकधुकी
माहात्म्यको महिमाले जन्मभूमि मनोहर
पूर्वपट्टि पहारिलो झुल्के घाम मेरो घर ।४।
नक्सा नयाँ देशको माटो ढुक्ढुकिन्छ मुटुभित्रै
राष्ट्रगान स्वाभिमान छचल्किन्छ छातीभित्रै
मुटु हिल्ने संसारैमा चिनिएको गोर्खाली म
गुराँसैको फूल सिउरी रम्रिएको नेपाली म ।५।
० ० ०
पदम दाहाल, मादी न.पा- ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर




