काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता संकटमा परेपछि एकले अर्कालाई तर्साउन आ–आफ्नै तयारी गरेका छन् । कर्णाली प्रदेशमा आफ्नै सांसदहरुले मूख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध संसदीय दलमा राखेको अविश्वासको प्रस्तावपछि बढ्दै गएको विवाद सुल्झाउन तीन शीर्ष नेताहरुले आ–आफ्नै तयारी थालेपछि यसको ठोस परिणाम भने हासिल हुन अवस्था आइसकेको छैन ।ओली, दाहाल र नेपालले आफ्ना समूहका नेताहरुसँग निरन्तर छलफल अघि बढाएका छन् । उनीहरु सकेसम्म एकले अर्कालाई तर्साउने फकाउने र झुलाउने पक्षमा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेपनि उनीहरु तत्कालै ओलीलाई मनाउन सक्ने अवस्थामा छैनन । विभिन्न घट्नाक्रमले ओली पक्षका नेताहरुले माधव नेपाललाई मनाउन नसक्ने भएकाले क्षति न्यूनिकरणमा प्रगति हासिल भएको छैन । सात दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरहेका छन् ।
आइतबार साँझ लाजिम्पाटस्थित एक होटलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वमन्त्री खगराज अधिकारी, महेश बस्नेत, केन्द्रीय सदस्य आनन्द पोखरेल लगायतका करिब १५ जना नेताहरुको एउटा भेलाले अबका दिनमा पार्टीलाई बढी क्षति हुन नदिने र पूर्व एमालेहरु मिलेर जानुको विकल्प नभएको निष्कर्ष निकालेपनि माधव नेपालसम्म पुग्न नसक्दा समस्या भएको छ । उनीहरुले केपी ओलीलाई पनि माधव नेपाललाई साथमा लैजानु पर्ने निष्कर्ष निकालेको कुरा भन्न सकिरहेका छैन । त्यसकारण पनि उनीहरुको निष्कर्षले खासै महत्व राख्ने अवस्था आइसकेको छैन । तर पनि उनीहरु निरन्तर छलफलमा लागेका छन् ।
ओली समूहका नेताहरु शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराई र सूर्य थापाको समूहले राजनीतिबाट अवकाश लिइसकेका प्रदीप नेपाललाई समेत भेटेर ओली नेपाल मिलाउने सुत्रधार बन्न आग्रह गरेका थिए । त्यसकै भोलीपल्ट सोमबार माधव नेपाल प्रदीप नेपालकै घरमा पुगेर भेटघाट समेत गरेका छन् । यसरी हेर्दा ओली पक्ष पछिल्ला दिनमा नेपालसँग मिल्नको विकल्प नभएको निष्कर्षमा पुगेको देखिन्छ ।
कार्यकारी अध्यक्ष समेत रहेका पुष्पकमल दाहालले यसै साता आफ्ना निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतीमै अलग अलग बसौ सधैको कुण्ठा म सुन्न सक्दिन भनेपछि गत आइतबार वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसँगको छलफलपछि सोमबार दाहालले आफू निकटका स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका थिए । खुमलटार निकट स्रोतका अनुसार काठमाडौबाहिर रहेका केही स्थायी कमिटी सदस्यहरुलाई सोमबार नै काठमाडौ आइपुग्न दाहालले आग्रह गरेका थिए ।
त्यसक्रममा छलफलमा सहभागीहरुले दाहाललाई केही समय पर्खन सुझाव दिएका थिए । उनीहरुले तत्कालै माधव नेपालको साथ छाड्दा धोका दिएको ठहर्ने भएकाले तत्काल माधव नेपाललाई साथमै लिएर ओलीलाई झुकाउन कोसिस गर्नुपर्ने केही नेताहरुको तर्क भएपनि माधवसँग मिल्दा केही प्राप्ति नहुने भएकाले ओलीसँगै मिल्न पनि सुझाव दिए । तर दाहालले पार्टीनै विभाजन गर्ने विषय आएकाले अप्ठ्यरो परेको यसको के निकास हुनसक्छ भनेर आफू निकटका नेताहरुसँग परामर्श गरेका थिए । तर दाहाल अझै दोधारमा रहेका छन् । उनले गत शनिवारदेखि ओलीसँग कुनैपनि प्रकारको संवाद गरेका छैनन ।
प्रधानमन्त्री केपी शर्माले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टी पंक्ति र सरकारमा पूर्णत उपेक्षा गरेको महशुस गरेको अवस्थामा आफ्नो उपस्थितिलाई सशक्त बनाउने तयारीमा लागेका कारण कर्णालीमा मूख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा ओली पक्षसँग मिलेका थिए । तर आफ्ना समूहका मान्छेलाई मन्त्री बनाउने अवस्था आएपछि भने नेपाल समूहले मूख्यमन्त्री शाहीसँग मिलेरै ओली समूहलाई धक्का दिए ।
जसको असर केन्द्रमा समेत पर्यो । पार्टी र सरकार दुवैबाट पेलिएको महशुस भएपछि दाहालसँग मिलेर वा आफ्नै समूहले मात्र भएपनि प्रदेश सरकारमा आफ्नो सहभागी जनाउने तयारीमा रहेको ओली पक्षलाई महशुस गराइएको छ । पार्टीभित्र ओलीले आफूहरुलाई पेलेर भित्तामा पुर्याएको भन्दै नेपाल निकट नेताहरुले जसरी पनि ओलीलाई आत्मआलोचना गराउने र झुकाउने रणनीति बनाएपछि ओली समूह झस्किएको थियो । तर पनि ओली भने अहिलेनै माधव नेपालसँग मिलेर जान सकिने अवस्था नभएको भन्दै आफ्ना समूहलाई सजग रहन आग्रह गर्दै आएका छन् । यसले गर्दा नेकपाभित्र तीन नेताहरु एकले अर्कालाई तर्साउने, गलाउने र फकाउने नीतिमा लागेका छन् ।




