ताजा समाचार

नेपाली राजनीति हत्याउने र पत्याउनेहरु

राजनीति राज्य सञ्चालनको मियो हो । देशको सामाजिक आर्थिक,सांस्कृकि धार्मिक प्रशासनिक पक्ष र उत्पादनका साधनहरु राजनीतिकै सेरोफेरामा घुमिरहेका हुन्छन । कुनै पनि देशको राजनैतिक व्यवस्थामा आउने परिवर्तनसँगै यी सबै कुराहरु स्वतस्फुर्त रुपमा परिवर्तन हुदै आउँछन । राजनीतिले नै सामाजिक सम्बन्ध र ब्यवहार निर्माण गरेको हुन्छ । जस्तो प्रकारको राजनैतिक प्रणलीको विकास भएको हुन्छ सोही अनुरुपको न्याय प्रणलीको निर्माण गरिएको हुन्छ । देशले निर्माण गरेको नीति, नियम कानुनले कुनै पनि मुलुकको राजनैतिक संस्कारको निर्माण र विकास हुदै जाने गर्दछ । यी सबै पक्षहरु कसरी अघि बढेका छन भन्ने कुराको निर्धारण देशको नेतृत्व कसले लिएको छ, देश कसले कसरी हाँकिरहेको छ, त्यो नेतृत्वमा निर्भर रहने कुरा हो । नेतृत्वमा गुणात्मक क्षमता छ, पर्याप्त मात्रामा अध्ययन छ, अनुभव छ, राष्ट्रिय अन्तराष्ट्रिय परिवेशको बारेमा विश्लेषणात्मक ज्ञान छ, पर्याप्त मात्रामा कुटनैतिक सचेतना छ, समयसापेक्ष निणय क्षमता छ भने देशको मुहार फेर्ने कुरामा आशा र भरोषा गर्न सकिन्छ । यदि नेतृत्वमा टपरटुइया छ, इतिहासको ब्याज खान लालयित छन, राष्ट्रिय अन्तराष्ट्रिय परिवेशलाई बेवास्था गर्दै आफ्नो लिडेढिपीका भरमा शासन चलाउन खोज्दछ, पर्याप्त कुटनैतिक सचेतनाको अभाव छ, घोषणपत्र एकातिर कार्यान्वयन अर्कैतिर गरिहिड्छ, अर्काले नाक काटेको र सिगान पुछेको बुझदैन, दिउसो दुगुना राति चौगुना ढाँटेर राजगर्न खोज्दछ त्यस्तो नेतृत्वले आफ्नो दुनौ त तीनपुस्ताका लागि सोझो बनाउँछ । तर, देश र जनताको सपना माथि बलत्कार गर्दछ जुन अहिले नेपाली जनताका आँखा अगाडि छर्लंङ्ग छ ।

नेपालको वर्तमान राजनीति हत्याउनेहरुको पक्षमा छ । आज जसले देशको सम्पत्ती हत्याउन सक्छ देशको आर्थिक,सामाजिक, राजनीतिक, प्रशासनिक कुटनीतिक क्षेत्रलाई जसले आफ्नो पकडमा राख्न सक्छ, गाउँदेखि केन्द्रसम्म उसको बोलवाला रहने अवस्था छ । बोलीमा जनता जनाद्र्धन भनिएतापनि ब्यवहारमा हेर्ने हो भने जनतालाई यस्तो निरिह प्राणी बनाइएको छ । जसलाई बाँधे पनि हुन,े थुने पनि हुन,लखेटे पनि हुने र अन्यायमा मारे पनि कानुन नलाग्ने सम्मको अवस्था बढ्दै गएको छ । राज्यका श्रोत साधनमाथि जसले बढी से बढी दोहन गरी अथाह सम्पति सृजना गर्दछ त्यस्ता राजनीतिज्ञलाई समाजले हेर्ने नजर पनि उच्च कोटीको हुन्छ । ठूला महल, गाडी,घोडा, विदेशमा छोराछोरीको शिक्षादिक्षा हुदै असीमित बैंक ब्यालेन्स भएपछि उनीहरुको भाषा परिवर्तन हुन थाल्छ, उनीहरुका घरमा भात खान छोडेर भुजा ज्युनार गर्न थालिन्छ,तीनपाने ठर्रा एकाएक रेडलेबल र ब्लाक लेवलमा परिणत हुदै जान्छ । विगतमा निर्वाचन जिताउन ज्यानको बाजी थापेर मैदानमा होमिएका कार्यकर्ताहरु दिनानुदिन अपरिचित हुँदै जान्छन । जसका हातमा ठेक्कापट्टाको लाइसेन्स छ, कमिसनका बृफकेशहरु पुर्याउन सक्छन, तिनीहरु नजिक हुँदै जाने र इमान्दार कार्यकर्ताहरु पार्टी कार्यालायको गेट र सिंहदरबारको गेटमा भेटनका लागि शान्तिपुर्वक कुर्ने इमान्दार पहरेदार बन्दै गएका छन । त्यस्ता कार्यकर्ताहरु न देशको राष्ट्रिय ढिकुटीमा पौडी खेल्न सक्दछन न त जान्दछन । अनि तिनलाई घरमा समय दिएर नेता जी हरुलाई के फाइदा ?

नेपालको वर्तमान राजनीतिमा पत्याउनेहरुको विचल्ली हँुदै गएको छ । यो लोकतान्त्रिक गणतन्त्रको कुरुप पाटो हो । यहाँ नेताहरुले जे भनेपनि जनताले पत्याइदिनुपर्ने,ढाँटे पनि पत्याउनुपर्ने, हो भन्दा पनि पत्याउनुपर्ने, होइन भन्दा पनि पत्याउनुपर्नेे खाएँ भन्दा पनि पत्याइदिनुपर्ने र खाएको छैन भने पनि पत्याउनु पर्ने विडम्बनाले हत्याउनेहरुको अवस्था मोटाउदै गएको छ भने पत्याउनेहरु भोक, रोगको कारणले सुन्निन थालेका छन । सरकार त्यसलाई जनता मोटाएको देख्दैछ । पत्याउनेहरुको इतिहास सधैं कमजोर नै रहेको देखिन्छ । तीस वर्षे पञ्चायतकालमा पञ्चहरुले राष्ट्रको श्रोत साधन हत्याए जनताले पत्याए । हत्याउने पञ्चहरु कहाँबाट कहाँ पुगे पत्याउनेहरु जहाँको त्यहीं छन । पछिल्लो तीस वर्ष बहुदलबादीहरुले हत्याउनुसम्म हत्याए अब त हामा सपनामाथि रातो कार्पेट विच्छ्इयो भन्ने भ्रममा परेका जनताले त्यो पनि पत्याए । बामपन्थीहरुले ‘’बेघरबारलाई घरघडेरी बेरोजगारलाई काम, जोताहालाई खेतबारी हेपिएकालाई मान”भनेर निर्वाचनमा गए जनताले त्यो पनि पत्याए दुर्भाग्य अहिलेसम्म जनताले एक फोक्टो जमिन पाएनन । दश वर्षसम्म देशमा युद्ध भयो १७ हजार नेपाली जनताले अनाहकमा ज्यान अर्पण गरे नयाँ नेपालका लागि । अब पुरानो नेपाल छैन हामी नयाँ नेपाल बनाउछौं भन्दै हत्याउन सुरु गरेका तत्कालीन माओबादीलाई पनि पत्याए परिणाम अहिले पुरानो नेपालकै साँधसिमाना हराइसकेको छ ।

त्यतिले मात्र भएन अब नेपालको राजनीतिक क्रान्ति समाप्त भयो, आर्थिक क्रान्तिका लागि स्थिर सरकार बनाउन तत्कालीन एमाओवादी र एमाले मिल्यौ हामीलाई पाँचवर्ष सरकार बनाउने म्यान्डेट दिनुस भनेर जनतामा गए त्यो पनि पत्याएर पठाए । स्थिार सरकारले के के न गर्ला जस्तो गरेर स्टेप लियो । ३२ किलो सुन तस्कर समातेर कारवाही गर्ने भनेर सरकार लागेकै हो । यातायात क्षेत्रको सिण्डिकेट तोडेर छाडने उदघोष गरेर केही दिन जनताका आँखामा छारो हाले त्यसलाई पनि जलताले पत्याएकै हुन । जहाज खरिद प्रकरणमा भएको हिनामिना छानविन गरी भ्रष्टाचारीलाई कारवाही गर्ने कुरा त पत्याए । विचरा बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेल ठगिएको कुरालाई पनि जनताले पत्याएकै हुन । तर दुर्भाग्य नै मान्नुपर्छ आजसम्म इतिहासदेखि पत्याउँदै आउनेहरु जहिले पनि कान्लो मुनि नै रहेको अवस्था छ तर हत्याउने अल्पसंख्यकहरुले हत्याउन सकेकै भरमा बहुसंख्यक जनतामाथि शासन जमाएकै छन ।

माक्सबादी दृष्टिकोंणबाट हेर्ने हो भने यहाँ हत्याउनेहरु लाई पुजीँपति वर्ग र पत्याउनेहरुलाई श्रमजीवी वर्गीय दृष्टिकोंणबाट विश्लेषण गर्नु सान्दर्भिक हुनेछ । यसर्थ यहाँ हत्याउनेहरुले हरेक शासन ब्यवस्थामा श्रोत साधनहरुको अधिक दोहन गरेर आफ्ना गलत विचार, दृष्टिकोंण लाई समेत पत्याउन बाध्य बनाएको भन्न अन्यथा नहोला । यहाँ प्रहरी, प्रशासन नियम,कानुन, अदालत सबै पत्याउनेकै पक्षमा रहने हुनाले पत्याउनेहरुले समयमा न्याय नपाउने जोखिम पनि त्यत्तिकै रहेको छ । २०४६ सालमा भूमिगत राजनीतिबाट शहर पसेका नेताहरुले बिद्यार्थीका कोठामा गएर दारी काटेर आमसभामा गएको इतिहास ताजै छ । आज त्यो बेला होष्टलमा बस्ने विद्यार्थी १० वर्ष खाडीमा बसेर कमाएर फर्कदा काठमाण्डौमा एउटा घडेरी खरिद गर्न नसकेर लाचार हुँदै गाउँ फर्कन बाध्य हुन्छ अनि एक पटक सांसद मन्त्री हुनासाथ काठमाडौमा बंगला,गाडी,घोडा, बैंक ब्यालेन्स कसरी जम्मा हुन्छ ? भन्ने कुराको प्रश्न गर्न पत्याउनेहरुलाई कठिन छ । तथापि आज पत्याउनेहरु संगठित हुँदै गइरहेको विद्यमान परिवेसमा हत्याउनेहरुको मुटुमा ढयांगो बज्नु स्वभाविक हो ।

किनकि माक्सबादी सिद्धान्तले जबसम्म श्रमजीवीहरु संगठित हुदैनन पुजिपतिहरुले यो वा त्यो बाहनामा प्रभावमा पारिरहन्छन तर जब श्रमजीवीहरु एकठाउँमा उभिन्छन त्यसले पुजीपति सत्ता ढालेर श्रमजीविहरु नेत्रित्वमा आउँछन भन्दछ । यही दृष्टिकोंणलाई आधार मान्ने हो भने पनि ६ दशक सम्म नेपालमा हत्याउने हरुले राज गरे त्यसले पत्याउनेहरुको जीवन शैलिमा खास परिवर्तन गर्न सकेन त्यसर्थ अब पत्याउनेहरुले अन्धभक्त बनेर पत्याउने छैनन बरु हत्याउनेहरुको अहिले सम्मको सम्पत्तीको श्रोत खोजेर अबैद्य श्रोतमाथि नियन्त्रण गर्ने नीति अख्तियार गर्न सक्यो भने श्रमजीवीले पुँजीबादी सत्ता ढाले जसरी विगतदेखि पत्याउन बाध्य पारिएकाहरुकै हातबाट हत्याउनेहरुलाइ लखेटेको हेर्ने दिन नजिकिदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *