काठमाडौं । अहिले धेरैको घरमा टेलिभिजनमा च्यानल आउँदैन, आए पनि नेपाली र धार्मिक च्यानलमात्र आउँछ । हिन्दी सिरियल र अंग्रेजी रियालिटी सो हेर्ने बानी परेका नेपाली दर्शकका लागि सरकारले कार्तिक ७ गतेदेखि लागू गरेको (विज्ञापनसहित) क्लिब फिडले घर बसाइ बेस्वादिलो बनाइदिएको छ ।
तर अब बढीमा दुई साताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्णरूपमा विज्ञापनरहित ‘क्लिन फिड’ कार्यान्वयनमा आउँदैछ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा बन्द रहेको कतिपय विदेशी च्यानल बढीमा १५ दिनभित्र उपलब्ध गराउने तयारी टेलिभिजन वितरकहरुले गरेको बुझिएको छ ।
उपकरण आयातको अनुमति र त्यसको जडानमा भएको ढिलाइका कारण कतिपय च्यानलमा पूर्ण रूपमा क्लिन फिड लागू हुन नसकेको नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले जनाएको छ । नेपालमा डाउनलिंक अनुमति लिएर प्रसारण गर्न पाइने केही सशुल्क च्यानल उपकरण जडानको क्रममा रहेका हुन् ।
अहिले सोनी ग्रुप, जी नेटवर्क, इन्डिया कास्ट अन्तर्गतका प्रमुख टेलिभिजन च्यानलमा क्लिन फिड कार्यान्वयनमा आइसकेको छ । डिस्कभरी, स्टार र बीबीसी लगायत केही च्यानल क्लिन फिडका लागि आवश्यक उपकरण जडानको क्रममा छन् ।




