काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंको टीका स्थगित गरेर घरपरिवारसँग रमाएका छन् । दशैको टिकाको दिन निवासमा भीडभाड नहुने र सर्वसाधारण तथा आफन्तहरुलाई टिका स्थगित गरेपछि उनीहरु दशमीको दिनभर परिवारसँग रमाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशैंमा सर्वसाधारणलाई भीभीआइपीले दशैको टिका स्थगित गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका नलगाइ दिएपनि आफूले भने आमाको हातबाट टीका ग्रहण गरेकी थिइन । उनले गुरु र आमा दुवैबाट टिका ग्रहण गरिन भने । प्रधानमन्त्री केपी शर्मा ओलीका दम्पत्तिलाई पनि टिका लगाइदिइन । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले यो वर्षको दशैंको अवसरमा आयोजना हुने चियापान र टीका कार्यक्रम स्थगित गरेर घर परिवारसँगै रमाएका छन् ।
उपराष्ट्रपतिको सचिवालयका अनुसार दशैंमा भीडभाड हुने सबै कार्यक्रम स्थगित भएको गरिएको थियो । यसअघि सर्वसाधारण र पार्टी कार्यकर्तालाई टीका लगाएर दशैं मनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष बुबा र राष्ट्रपतिको हातबाट टिका लगाए । पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरेर परिवारलाई मात्रै टिका लगाइदिएका छन् । पूर्व राजाले शुभसाइतमा पूर्वमुमा बडामहारानी रत्नको हातबाट महेन्द्र मन्जिलमा गएर टीका ग्रहण गरेपछि निर्मल निवासमा छोरा बुहारी र नाति नातिनीलाई टीका लगाइ दिएका थिए । पूर्वप्रधानन्त्री एवं नेकपा वरिष्ठ नेता माधव नेपालले पनि यो वर्ष सार्वजनिक रुपमा टीका लगाएनन । घरभित्र भएका मानिसलाई बाहेक अन्य कसैलाई पनि टीका लगाएनन । नेता नेपालको घरमा उनीभन्दा जेष्ठ सदस्य नभएका कारण यो वर्ष उनी आफैंले पनि टीका नलगाउने भएका हुन् । गत वर्षहरुमा नेता नेपालले काकीको हातबाट टीका ग्रहण गर्दै आएका थिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतका वर्षमा कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइने गर्थे । तर यो वर्ष कोभिडका कारण सार्वजनिक रुपमा टीका लगाएनन । तर पारिवारिक रुपमा भने देउवाले दशैंको टीका लगाएका छन् । योवर्ष दशैंको टीका मात्र होइन ठूला पार्टीले आयोजना गर्ने चियापान कार्यक्रमसमेत स्थगित गरिएका छन् । औपचारिकरुपमा निर्णय नभए पनि यो वर्षका लागि चाडवाड लक्षित चियापान कार्यक्रम स्थगित संकेत देखिएको छ । कोरोना संक्रमणको उच्च जोखिम भएको उपत्यकामा चाडवाड र अन्य अवस्थामा भीडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न मापदण्ड नै जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डमा धार्मिकस्थलमा २५ जनाभन्दा माथि भेला हुन पाइनेछैन ।




