काठमाडौं । नवरात्रिको नवौं दिन अर्थात् महानवमी हो आज । आज नवौं शक्ति स्वरुपा माता सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ, कन्या पूजा नवरात्रभर नवदुर्गाको पूजाका साथ साथै प्रत्येक दिन एक एकवटी कन्यालाई पूजा गर्ने चलन छ, प्रत्येक दिन फरक फरक उमेर र नाम भएकि दुई वर्ष देखि दश वर्ष सम्मकी कन्यालाई बस्त्र अलंकार सहित पूजा गर्ने विधान छ । प्रत्येक दिन कन्या पूजा गर्न अनुकूल नहुँदा नवमीका दिन देविस्वरुपा नौजना कन्या लाई प्रतीक मानि पूजा गरिन्छ , साथै चण्डीका प्रत्येक मन्त्र द्वारा हवन गरि तिलक लगाउने प्रचलन पनि छ।
‘कामदं मोक्षदं नृणां ज्ञानदं दुःख नाशनम् ।’
अर्थात् मानिसले चिताएको पुग्ने, ज्ञान र मोक्ष प्राप्त गर्नुका साथै सम्पूर्ण दुःख नाश हुने पुराणमा बताइएको छ । त्यस्तै, मार्कण्डेय पुराणमा मधुकैटभ, महिषासुर, धुम्रलोचन, चण्ड, मुण्ड, रक्तबीज र अन्त्यमा निशुम्भशुम्भ नाम गरेका दैत्यमाथि देवीले विजय प्राप्त गरेको उल्लेख छ ।
तसर्थ मानिसका मनमा रहेको आसुरी भाव नष्ट गरी तत्वज्ञान प्राप्त गर्न पनि दुर्गा भवानी माताको पूजाआराधना गर्नुपर्ने मान्यता हो।
मार्कण्डेय पुराण अनुसार दुर्गादेवी सबै प्राणीहरुमा विष्णुमाया , चेतना , बुद्धि, निद्रा, भोक, क्षुधा , छाया, शक्ति, तृष्णा, क्षान्ति , जाति , लज्जा , शान्ति , श्रद्धा , क्षमा, कान्ति, लक्ष्मी , वृत्ति, स्मृति , दया , तुष्टि , मातृ , भ्रान्ति आदि रूपले व्याप्त रहन्छिन्।
दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठानका साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ । देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् । सिंहको वाहनमा बिराजमान यि देवीको प्रिय वस्तु कमलको फूल हो । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्तगर्ने विश्वाश छ र शक्तिस्वरुप सिद्धिधात्री प्रसन्न भएर वरदान दिएमा साधक साधीकाको कुनैपनि इच्छा बाँकी नहुने गरि सम्पूर्ण इच्छा पूरा गरिदिने भनि मार्केण्ड्य पूराणमा उल्लेखित छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको ब्याख्या गरिएको छ ।
आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरुले असुरहरुलाई खोजी–खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरकारुपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ । नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यलय लगायतका ठाँउमा आज कलपूर्जा, हतियार र गाडीहरुको विशेष पूजा सहित जंगी निशान पूजा र कोत पूजा पनि गरिन्छ । अरु बेलाको दशैं झैं हुने हो भनें वलि दिनकालागि आज उपत्यका भित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी, बज्रवाराही लगायतका शक्तिपीठहरुमा धेरै घुँइचो हुनेथियो । तर यसवर्ष कोरोना त्रासले भनें दशैंको रौनकमा धेरै कमी ल्याइदिएको छ, स्वास्थ जोखिमको यस अवस्थामा हामी जहाँ छौं दशैंलाई त्यही त्यसैअनुरुप मनाउन जरुरी छ ।
यसैगरि उपत्यका बाहिर पर्साको तिलवा नदि पारी केहूनिया भन्ने ठाँउमा रहेको शक्तिपीठ विन्देवासिनी देवीको मन्दिरमा, वीरगञ्जको गहवामाईमा, काभ्रेको पलाञ्चोक भगवतीमा, सप्तरीको छिन्नमस्ता मन्दिरमा, डडेलधुराको उग्रतारा मन्दिरमा, जनकपुरको राजदेवी मन्दिरमा, गोरखाको मनकामना मन्दिरमा, सुनसरी जिल्लाको दुहवीको बुढीखोला किनारमा रहेको कालिमन्दिर, बनेपाको चण्डेश्वरी लगायत काठमाण्डौ बसन्तपुर दरवार स्क्वायरमा रहेको दशैंघर, कोतको पटाङ्गगीनी लगायत नेपालभरिका शक्तिपीठ र मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको वलिसहित पूजाअर्चना र सप्तशती पाठ गरिने चलन छ जुन यसवर्ष भिँडभाँड भन्दा बाहिर अनि सामाजिक दुरि कायम गरेर गरिने बताइएको छ । ।
कतिपय ठाँउमा आज कुखुरा, बोका, भेँडा, हाँस र कुखुराको पञ्चवलि पनि चढाएर कोतपूजा र निशानपूजा पनि गर्ने गरिन्छ । आजको दिन धूप आरती, फूल, नैवेध आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका विरुवाहरुको पूजागर्ने चलन पनि छ ।
कतिपय शत्तिपीठमा दुइदेखि दश वर्षसम्मका कन्याहरुको पूजागर्ने चलन पनि छ र यस्तो कन्यापूजाको बारेमा देवीभाग्वतमा लेखिएको छ । आजको दिन काठमाण्डौको तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल एकदिनमात्र सर्वसाधारणकालागि खुल्ला रहने चलन छ यद्धपी कोरोना त्रासले घुँईचो र भेलाहरुलाई वर्जित गरिएको छ । ।
यस दिनविशेष पाठः
या देवी सर्वभूतेषु माँ सिद्धिदात्री रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस् ।।
अर्थात
सिद्धिदात्री देवीका रुपमा सवत्र विराजमान अम्बे, म तपाइलाई कोटी कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।
महानवमीको सबैलाई शुभकामना, देवीमाताले हामीसबैलाई शक्ति र समृद्धि प्रदान गरून् ।
स्याकूट्याकू
माता सिद्धिधात्रीको विशेष पूजापश्चात् काठमाडौंका स्थानीय नेवार समुदायमा परापूर्वकालदेखी देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिएर स्याकूट्याकू हर्ष बढाइकासाथ मनाइन्छ । यी दिनहरूमा स्थानीयहरू आ(आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने गर्दै आएका छन । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल अर्पण गर्दछन् । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।
स्याकूट्याकूकै दिन कतिपय ठाँउमा आज कुखुरा, बोका, भेँडा, हाँस र कुखुराको पञ्चवलि पनि चढाएर कोतपूजा र निशानपूजा पनि गर्ने गरिन्छ । स्थानीय नेवार समूदायहरुले आजको दिन धूप आरती, फूल, नैवेध आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका विरुवाहरुको पूजागर्ने चलन पनि छ ।




