काठमाडौं । प्रदेश १ प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाविरुद्ध आर्थिक अनियमिता गरेको आरोपमा अर्का समकक्षी एसपीकै नेतृत्वमा छानवीन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश १ प्रहरीलाई छानबिन गर्न निर्दैशन दिएपछि एसपी मनोज यादवको संयोजकत्वमा छानवीन समिति बनाएर छानवीन शुरु गरेको हो ।
विभिन्न मुद्धामा आर्थिक प्रलोभन राखेको भन्दै एसपी थापाविरुद्ध अख्तियारमा उजुरी परेपछि प्रदेश १ प्रहरी कार्यालयलाई छानवीनका लागि पत्रचार गरेको थियो । ‘ अख्तियारमा उजुरी परेको रहेछ,हामीलाई छानवीन गरेर प्रारम्भिक प्रतिवेदन दिन निर्दैशन दिएको थियो त्यसकारण छानवीन शुरु गरिएको हो’, प्रदेश प्रहरी कार्यालय स्रोतले भन्यो । एसपी थापाविरुद्ध आगुऔषध तथा सुर्तीजन्य पदार्थमा कमिसन मागेको उजुरी परेको छ । प्रदेश नम्बर एक प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) ईश्वरबाबु कार्कीले एसपी थापामाथि अनुसन्धान गर्न एसपी मनोज यादवको नेतृत्वमा समिति बनाएको पुष्टि गरेका छन् । ‘केही कुरा बुझ्नु पर्ने भएकाले एसपी मनोज यादवलाई खटाइएको हो’, उनले भने ।
छानविन समितिका संयोजक एसपी यादवले थापाको बयान लिने काम सकेका छन् । समितिले बयानको आधारमा प्रतिवेदन प्रदेश प्रहरी कार्यालय पठाउने र उक्त प्रतिवेदनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा बुझाउने बताइएको छ । प्रहरीले भने उनकै समकक्षी एसपी यादवको नेतृत्वमा छानवीन समिति बनाएर अनुसन्धानलाई प्रभावित पार्न खोजेको छ । ‘समकक्षीलाई छानवीन समितिको संयोजक बनाउदा कित पूर्वाग्रही कित गल्तीलाई ढाकछोप गर्नतर्फ लाग्ने भएकाले यस्तो अभ्यासलाई निको मानिदैन’, प्रहरी स्रोतले भन्यो । छानवीन समिति बनाउदा जहिले पनि सिनियर अफिसर्स खटाउनु पर्नेमा प्रहरीले यस्ता समितिमा धेरैजसो समकक्षीलाई खटाउने गरेको छ ।




