काठमाडौँ । यतिबेला महान चाड बडादशैं अन्तरगत नवरात्र चलिरहको छ । नवरात्रिको छैठौं दिन आज माता कात्यायनी देवीको पूजा आराधना गरिँदैछ । कात्ययानी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वास छ । कात्ययानी नेपालको अछाम जिल्ला अन्तर्गत बैद्यनाथ क्षेत्रमा जन्मेकी हुन् । माता कात्यायनी देवीको पूजा अर्चना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुनुको साथै जन्मको समस्त पाप पनि नष्ट हुन्छ भन्ने मान्यता छ ।
विश्वप्रसिद्ध महर्षि कात्यायनले भगवती पराम्बाको उपासना गरे । उनले कठोर तपस्या गरे । उनले पुत्री प्राप्तिका लागि माता पराम्बाको उपासना गरेका थिए । माता पराम्बा उनको भक्ति देखेर खुशी भएर छोरीको रुप लिएर उनको घरमा जन्म लिइन् । यसरी यी देवीको नाम कात्यायनी रहन गयो । यिनको गुण शोधकार्य छ । त्यसैले यी देवीको वैज्ञानिक युगमा कात्यायनीको महत्व सर्वाधिक रहेको छ । माता कात्यायनीको कृपाले नै सबै कार्य पूरा हुन्छ भन्ने विश्वास छ । यी देवी वैद्यनाथ नामक स्थानमा प्रकट भएकी थिइन् । जुन ठाउँ नेपालको अछाम जिल्लामा पर्छ । माता कात्यायनी अमोघ फलदायिनी छिन् । भगवान कृष्णलाई श्रीमानको रुपमा पाउनका लागि ब्रिजका गोपिनीहरुले यिनै देवीको पूजा गरेका थिए । त्यो पूजा कालिन्दी यमुनाको तटमा गरिएको थियो । त्यसैले यी देवी ब्रजमण्डलकी अधिष्ठात्री देवीको रुपमा प्रतिष्ठित छिन् । यिनको स्वरुप अत्यन्त भव्य र दिव्य छ । यिनी स्वर्ण जस्तै चम्किली र भाष्वर छिन् ।
यिनका चार हातहरु छन् । दायाँतर्फको माथिल्लो हात अभयमुद्रा रहेको छ तथा तल्लोतर्फको हात वरमुद्रामा रहेको छ । माताको बायाँतिरको माथिल्लो हातमा तलवार र तल्लो हातमा कमलको फूल सुशोभित छ । यिनको वाहन पनि सिंह नै हो । यिनको उपासना र आराधनाले भक्तहरुले सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सक्छन् । त्यसैले भनिन्छ यी देवीको उपासना गर्नाले परम पदको प्राप्ति हुन्छ ।
कात्यायनी देवीको पौराणिक कथा ः कर्णाली नदीको किनारमा कत नाम गरेका एक ऋषि थिए । उनका पुत्र ऋषि कात्य भए । कात्यको गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायन पैदा भए । यिनले भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवतीको जन्म मेरो घरमा छोरीको रूपमा होस् भन्ने उनको इच्छा थियो। माता भगवतीले उनको प्रार्थना स्वीकार गरिदिनुभयो । केही कालपछि जब महिषासुर दानवको अत्याचार पृथ्वीमा बढ्दै गयो, त्यसैबेला यस दैत्यको वधको लागि ब्रहृमा, विष्णु र शिव तीन देवताको शक्तिको तेजले एक देवीको जन्म भयो। यी देवीको पूजा गर्ने पहिलो ऋषि नै कात्यायन थिए । यसैकारण यी देवी कात्यायनी कहलाईन् ।
कात्यायनी देविको पूजा विधिः सर्वप्रथम कलश र त्यसमा उपस्थित देवी देवताको पूजा गर्नुपर्दछ । फेरि देवीको परिवारमा शामेल देवी देवताहरुको पूजा गर्नुपर्दछ । यसको पूजापश्चात् देवी कात्यायनीको पूजा गर्ने गरिन्छ । पूजाको विधि सुरु गरेपछि हातमा फूल लिएर देवीलाई प्रणाम गरेर देवीको मन्त्रको ध्यान गर्नुपर्दछ । देवीको पूजापछि महादेव र परमपिताको पूजा गर्नुपर्दछ । श्री हरिको पूजा देवी लक्ष्मीको साथ गर्नुपर्दछ ।
कात्यायनीको स्तोत्र पाठ
कंचनाभा वराभयं पद्मधरा मुकटोज्जवलां।
स्मेरमुखीं शिवपत्नी कात्यायनेसुते नमोअस्तुते।।
पटाम्बर परिधानां नानालंकार भूषितां।
सिंहस्थितां पदमहस्तां कात्यायनसुते नमोअस्तुते।।
परमांवदमयी देवि परब्रह्म परमात्मा।
परमशक्ति, परमभक्ति,कात्यायनसुते नमोअस्तुते।।
कात्यायनीको ध्यान मन्त्र
वन्दे वांछित मनोरथार्थ चन्द्रार्घकृत शेखराम्।
सिंहरूढ़ा चतुर्भुजा कात्यायनी यशस्वनीम्।।
स्वर्णाआज्ञा चक्र स्थितां षष्टम दुर्गा त्रिनेत्राम्।
वराभीत करां षगपदधरां कात्यायनसुतां भजामि।।
पटाम्बर परिधानां स्मेरमुखी नानालंकार भूषिताम्।
मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल मण्डिताम्।।
प्रसन्नवदना पञ्वाधरां कांतकपोला तुंग कुचाम्।
कमनीयां लावण्यां त्रिवलीविभूषित निम्न नाभिम।।




