काठमाडौं । वीरगन्जको एक अपार्टमेण्टबाट सुन बरामद हुँदा भारतको विहारमा यसले व्यापक चर्चा पाएको छ । पर्सा प्रहरीले कार्तिक १ मा वीरगञ्ज रेशमकोटीस्थित श्री गणेश अपार्टमेन्टबाट बरामद गरेको अवैध २२ किलो सुनको तार भारतीय जनता पार्टीका तर्फबाट विधानसभा निर्वाचनमा एनडिए प्रत्यासी प्रमोदकुमार सिन्हासँग जोडिएपछि चर्चा पाएको हो ।
एसपी गंगा पन्तले आफ्नै नेतृत्वमा छापा मारेको अपार्टमेन्ट उम्मेद्वार रहेका प्रमोदका भाइ अशोकले छोरी निवेदिका सिन्हाका नाममा राखेका थिए । भन्सार एजेन्ट अशोकले यसपटकको सुन आफ्नै दाजुको निर्वाचन खर्चका लागि ल्याएको रक्सौलस्थित विभिन्न निकायले नेपाल प्रहरीलाई जानकारी दिएपछि विहार उनका विरोधिहरुले मसालाको रुपमा प्रयोग गरिरहेका छन् । अशोक लामो समयदेखि तस्करीमा संलग्न रहेपनि दाजुको राजनीतिक प्रभावका कारण पक्राउ पर्न सकेका छैनन् ।
यसपटक पनि उनकै बिरोधीको सूचना र नेपाल प्रहरीका तल्लो तहका अधिकारीबिच कुरा नमिल्दा सुन बरामद भएको स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार सुन ४ भाइले कानूनी रूपमा भागबण्डा गरेपनि एकअर्कासँग निकट र सहयोगी भुमिकामा थिए । चारमध्ये एकजनाको केही समय अघि मृत्यु भएको थियो । उनी पनि राजनीतिमै सक्रिय थिए । पर्सा प्रहरीले थप अनुसन्धानका लागि सुन राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ। अठार करोड पैसठ्ठी लाख रूपैयाँ सुन र गरगहनाको मूल्य कायम गरिएको छ।




