नेपालको राष्ट्रिय प्रशासनिक केन्द्र सिंहदरबार सारा नेपालीहरुको शान र इज्जत हो । विश्वले नेपाललाई हेर्ने दृष्टिकोंण हो, सबै नेपालीहरुको आस्था र विश्वासको केन्द्र हो । सम्पूर्ण नेपालीको आवाज सुन्ने कान र समस्या समाधान गर्ने अभिभावकको रुपमा मानिदै आएको धरोहर हो । भोक,रोग अशिक्षा र जनताका पीर मार्काप्रति संबेदनशील रुपले न्याय सम्पादन गर्ने न्यायिक केन्द्र पनि हो । सूचनाबाट बञ्चित जनताहरुलाई न्यायोचित ढंगले सूचना प्रदान गर्ने र सूचनाकोे हक अधिकार गुमेका दूरदराजका नागरिकहरुको हकअधिकार पुनस्र्थापित गर्ने केन्द्र हो । यही केन्द्रबाट विगतमा विगाहाका विगाहा जमिन वितरण गरिन्थ्यो । यहींबाट चोरी,डकैति,हुलहुज्जतमा संलग्नलाई सिस्नुपानिले चोख्याइन्थ्यो ।
न्याय नपाउनेले बिन्तीचढाएको भरमा न्याय समेत त्यहींबाट पाउँथे । सिंहदरबारमा प्रवेश पाउनुलाई अत्यन्तै ठूलो गौरबको रुपमा हेरिन्थ्यो । सुन्दर शान्त वातावरणमा काम गर्नेले काम गर्दथे, बहस गर्नेले बहस गर्दथे । सबै आ–आफ्नो जिम्मेवारीप्रति बफादार थिए । अझ भन्दा यो चुप लागेर छोटो समयमा धेरै काम गर्ने थलो थियो । सबैले त्यही रुपमा बुझेका थिए र त्यही रुपमा उपयोग गर्दथे । न त्यहाँ दाइभाइको सम्बन्ध चल्दथ्यो न लेनदेनको हिसाबकिताब र मन्जुरीनामाको खेल चल्दथ्यो । विगतका दिनमा सिंहदरबार सही अर्थमा सिंहले झै ठाडो शिर उठाउने हिम्मत राख्दथ्यो । गलत कार्यका विरुद्धमा सिंहले झैं झम्टन्थ्यो र त अराजक गतिविधि गर्नेहरु र उक्साउनेहरु सिंहदरबारबाट टाढै रहने गर्दथे । जसको परिणाम देशमा शान्ति र अमनचैन कायम थियो,सिंहदरबारप्रति सम्मान र भरोसा थियो जुन अहिलेसम्म आउँदा स्खलित भएर माटोमा मिलिसकेको छ ।
आजको सिंहदरबार दलालहरुको अखडा बन्दै गएको छ । आज सिंहदरबारमा कामको भन्दा दामको खेल खेलिन्छ । कसको सरुवा कहाँ गर्ने, कसको बढुवा गरेर कहाँ लाने, कसलाई मालदार मन्त्रालयमा तान्ने र कसलाई ताप्लेजुङ र दार्चुला हुत्याउने भन्ने खेलको पात्र सिंहदरबार बन्दै गएको छ । प्रत्येक मन्त्रालयको गेटदेखि मन्त्री र सचिबको च्याम्बरसम्म लिष्ट बोकेर हिड्ने दलालहरुको लाइन छ । आफ्नो लिष्ट मन्त्रीका हातमा थमाएर सेवाग्राहीबाट पहिलो किस्ता बुझ्न पल्केका दलालहरुका कारण सोझा र इमान्दार राष्ट्रसेवकहरु भर्खर अन्माएर पठाएकी बेहुली जस्तै जता पठायो त्यतै जान बाध्य छन् ।
यस्ता दलालहरु विना कुनै जागिर कुनै पेशा ब्यवशाय र कुनै आम्दानीको श्रोत बेगर नै काठमाडौको अत्यास लाग्दो महंगीमा सानदार जीवनशैली परिवार सहित बिताइरहेका छन् भने आफ्नो काम भएबापत कमिसन दिनेहरु ऋण खोजेर बाफ्ना छोराछोरीको स्कूलको शुल्क तिर्न बाध्य छन । जुन गणतान्त्रिक शासन ब्यवस्थामा सिंहदरबारले उपलब्ध गराएको सुरक्षा हो । हिजोको सिंहदरबारले ताप्लेजुङ र दार्चुलाको भाषा बुझ्दथ्यो । जनताको भावना बुझ्दथ्यो र जनताको आवाज टाढैबाट सुन्दथ्यो तर, आजको सिंहदरबारले गेटबाट कराएको पनि सुन्न छोडेको छ ,ताप्लेजुङ र दार्चुला त धेरै टाढा भैसके । सिंहदरबारेको गेटमा अनशन बसेको मान्छे देखेन र सुनेन जनबोली । किनकि अहिले बुझ्ने भनेको कमीसनको भाषा मात्र हो ।
आजको सिंहदरबार भ्रष्टाचारको केन्द्र बन्दै गएको छ । देशमा दिनानुदिन गरीबी बढ्दै जानु र सिंहदरबारको चौघेराभित्र बसेर देशको बागडोर सम्हाल्ने नेताहरु मोटाउँदै जाने जुन अवस्था अहिले देखिएको छ त्यसको कारण खोतल्दै जाने हो भने जो कोहीले बुझ्न सक्छ कि आजको सिंहदरबारले त्यहाँभित्र जुनसुकै अवस्थाले छिरोस उनीहरुका लागि अपार सम्पत्ती थुपार्न पाउने लाइसेन्स दिएको छ । चाहे चप्पल लगाएर छिरोस वा फाटेको टोपी लगाएर छिरोस त्यसमा कसैको गुनासो छैन तर त्यहाँबाट निस्कदा पनि चप्पल लगाएर वा फाटेको टोपी नै लगाएर फर्कन्छ भने त्यसलाई सिंहदरबारको इतिहासले सराप्नेछ ।
त्यसकारण जो जसरी पसेको हो त्यसरी फर्कनुहुदैन भन्ने सिद्धान्तलाई सबैले पालना गरेकै छन् । यदि त्यसो गएिन भने आफ्नो हालत पनि विगतका नेताहरु कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, भिमबहादुर तामाङ, शैलाजा आचार्य, सुशिल कोइराला, साहना प्रधानहरुको जस्तै हुनेछ भन्ने कुरा यिनीहरुलाई सिंहदरबारले राम्रोसँग सिकाएको छ । सिंहदरबारमा हरेक दिन कमीसनको हाट लाग्ने गर्दछ । त्यसर्थ त्यही हाटमा गएर दैनिक मानिसको इच्छा, चाहना, भावना र इमान्दारितालाई बेचबिखन गरेर छाक टार्नेहरुको जमात सिंहदरबारमा क्रियाशील रहन्छ ।
पहिले सिंहदरबार चुप लागेर काम गर्दथ्यो नतिजा दिन्थ्यो अहिलेको सिंहदरबार हल्लाको पछि दौडन्छ नतिजा शून्यको अवस्था छ । नीति र कानुन बनाउने थलो कमीसनको बजारमा मोलमोलाईमा उत्रिएपछि त्यहाँबाट उत्पादन हुने नीतिकानुन पनि मोलमोलाईमै गएका छन । कार्यान्वयनको घरमा साढेसातीको दशा लागेको छ ।
सिंहदरबार ठेक्कापट्टाको केन्द्र बन्दै गएको छ । यो हुनु सारा नेपाली जनताका लागि दुर्भाग्यपूर्ण हो । हिजोका दिनमा राजनीति गर्ने नेता भन्नासाथ तिक्ष्ण बुद्धि भएको, अध्ययनशील, ज्ञान र आदर्शले भरिपूर्ण जनसेवी जस्ता गुणले सुसज्जित थिए । लामो समय जेलमा रहनुपर्ने बाध्यात्मक अवस्था थियो । हिरासतको कष्टपूर्ण जीवनलाई सार्थकता दिन अध्ययनको विकल्प थिएन । यस्तो अवस्थामा हिरासतबाट बाहिरिदा ज्ञानले खारिएर आउँथे । जनताको दुखसुखका सारथी बन्दथे । जनताका घरमा बसेर पारिवारिक माया साट्थे । जसले उनीहरुको नेतृत्व क्षमता खारिदै गयो । आफ्नो नेतालाई जिताएर सिंहदरबार पठाउँन पाउँदा जनता अत्यन्तै खुसी हुने मात्र होइन आफैं सिंहदरबार पुगेको अनुभूति गर्ने अवस्था थियो तर आज समय फेरिएको छ ।
आज सिंहदरबार प्रबेश गर्न पहिले ठेकापट्टाको लाइसेन्स हुनुपर्दछ । उक्त लाइसेन्सले सिंहदरबारको प्रवेशलाई खुकुलो बनाउँदै लाने अवस्था देखिएको छ । अहिले हरेक राजनीतिक दलको अवस्था यस्तै ठेकदार र दलालहरुले जेलिएको छ । आर्थिक विपन्नताकै कारण विगतमा प्रवासमा रहेका जेलनेल सहेका पुराना राजनीतिक कार्यकर्ताहरु दिनदिनै विस्थापित बन्दै गएका छन् । जसको परिणाम हरेक राजनीतिक दलभित्र राजनीतिक संस्कारको अन्त्य र आर्थिक संस्कारको विकास हुदै गएको छ । आज ठेकापट्टा नगर्ने, जग्गा दलाली नगर्ने, क्रसर सञ्चालन गर्न नसक्ने तर विशुद्ध विचारको राजनीति गर्नेहरुलाई सिंहदरबारको ढोका सदाका लागि बन्द हुँदै गएको छ ।
विगतमा जिल्लाबाट नेतृत्व गरेर आउनेहरुलाई सिंहदरबारले चिन्दैनथ्यो त्यस कारण नेताहरु आफ्ना दुखसुख साट्न जनताको घरघर जान्थे । परिणास्वरुप जनताले सिंहदरबारका विषयमा आफ्नै घरबसेर थाहा पाउँथे तर, आज हरेक जिल्लाका नेतालाई सिहंहदरबारले चिनेको छ । त्यहाँभित्र पसेपछि निस्कनै दिदैन । किन देओस पहिले भुखा नेता हुन्थे र बाहिरिन्थे । अहिले नेता बाहिरिनु भनेको सिंहदरबारको साख बाहिरिने हुनाले चेपिरहन्छ ।
पैसाले पैसा तान्छ भन्ने कुरालाई सिंहदरबारले सार्थक बनाएको छ । विगतमा सिंहदरबार प्रवेश गर्नका लागि गाउँगाउँमा संगठन भए पुग्दथ्यो । कार्यकर्ताहरु इमान्दार थिए । आफ्नो संगठनको विजयका लागि अहोरात्र खटिन्थे । गाउँगाउँ बस्तीबस्तीमा प्रचार प्रसारका लागि हिडने कार्यकर्तालाई खानपनको प्रबन्ध स्थानीय नेता कार्यकर्ताहरुले आ–आफ्नो घरमै गराउँथे । संगठनमा दुख गरेका, जनताका समस्था बुझेका, कार्यकर्ताहरुलाई आफ्नै परिवारको सदश्य सरह माया गर्ने नेता नै जनताको दैलोमा पुग्ने हुनाले सिंहदरबारमा को जान्छ भन्ने कुरा पहिले नै जानकारी हुन्थ्यो ।
एउटा गज्जबको र रमाइलो कुरा चै त्यसबैला नेता कार्यकर्ता कसैसँग पैसाको कारोबार नहुनेभएकोले लेनदेनको सुविधा थिएन । सिंहदरबार एउटै थियो थोरैले मात्र त्यहाँ जाने हिम्मत गर्दथे । आजको जर्जर अवस्था हेर्ने हो भने त्यो बेलाको एउटा सिहंदरबार यति धेरै विकास भयो कि प्रदेश प्रदेशमा सिंहदरबार, गाउँ गाउँमा सिहंहदरबार जन्मिएर थेग्न नसक्ने अवस्था बढ्दै गएको छ ।
धेरै ठाउँमा सिंह मात्रै पुगेको छ भने धेरै मान्छेका दरबार बनेका छन । यो सबै एउटा सिंह दरबारको देन हो । आज सिंहदरबार प्रबेशको मुल ढोकामै खसी राँगा भेडा बली दिनुपर्ने अवस्था विकसित भएको छ । गाउँगाउँ टोलटोल र बस्तीबस्तीमा नैवेद,अक्षता र भेटी चडाउन नसक्नेलाई सिंहदरबार कठिन यात्रा बनेको छ । त्यसर्थ सिंहदरबार नछोड्दै भेटीको लागि जोहो गरेर मात्र सिंहदरबारबाट बाहिरिने प्रचलन बढेको छ ।
अहिले चोकचोकमा विश्लेषण हुन्छ,आगामी दिनमा स्थानीय प्रादेशिक र केन्द्रीय सिंहदरबारमा जानेहरुको नाम चर्चा हुन्छ तर निर्णय हुन्छ पैसामा । किनकि आज सिंहदरबार मात्र नेपालको त्यस्तो प्रशासनिक केन्द्र हो जसले दिएर आउ लिएर जाउँ भन्ने पाठ सिकाएको छ ।




